साहित्यपोस्ट डट कम

कविता : प्रेम

कविता : प्रेम

प्रेम-१

तिमीलाई मैले समय दिएँ

सँगै हुँदा बताएँ

तिमीसँग आकर्षित हुनाका कारणहरू।

भेटका हरेक क्षणहरू रङ्गीन

र प्रेमिल त हुनैपर्छ

सम्झनाहरू नै त हुन्

सबैका लागि

एकान्तका कोसेली ।

प्रेम-२

अग्नि-वर्षा भइरहेछ

हिमआँधी र ग्लेसियरले ढाकिरहेछ

युद्ध-मैदानमा झैँ

आक्रमणको तयारी भइरहेछ

भूकम्पले हल्लाइरहेछ सारा संसार ।

हामी दुई भने एक-अर्काको

मायाको यानमा

सयर गर्दैछौँ निस्फिक्री।

अग्निस्नान गर्दैछौँ

तर यो जति खुसी

जिन्दगीमा अरू छैन ।

प्रेम-३

विशाल अग्निकुण्डमा

तिमी र म पसेका छौँ

जलिरहेछौँ दुवै सर्वोच्च आनन्दमा ।

निस्कँदा दुवै मिलेर

एक हुनु छ हामीलाई ।

प्रेम-४

कानेखुसी खुबै चलिरहेछ

आँधी खुबै चलिरहेछ

बीचमा सुन्दर बगैँचा छ

बिना अवरोध बगैँचा हुर्किइरहेछ ।

प्रेम-५

घोर अन्धकार नाघेर आएँ

डराइनँ

अग्ला पहाडहरू नाघेर आएँ

थाकिनँ

धेरै बोतलहरू रित्याएँ

मातिनँ ।

जब भेटेँ तिमीलाई

शून्य-शून्य बनिरहेछु

करोडौँ तिर्खा बटुलेर

विशाल समुद्र रित्याइरहेछु ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.