साहित्यपोस्ट डट कम

कविता : प्रश्नहरूको विज्ञप्ति

कविता : प्रश्नहरूको विज्ञप्ति

सखारै

यो सुदुर गाउँबाट आँसुको झन्डा बोकेर

आउँदै छु देशको राजधानी

बोकेको छु दिमागको सुर्केनी झोलामा

खुर्सानीजस्ता पीरा प्रश्नहरूको फिलु‌ङ्गो ।

मैले

केही हिसाब गर्नु छ

केही प्रश्नको उत्तरहरू माग्नु छ तिमीसँग ।

मैले हिँड्‌नुअघि,

भोकको पटुका बाँधेर कम्मरमा,

अभावको साँवल र वितृष्णाको पछ्‌यौरा भिरेको छु ।

र बोकेको छु बसाैँदेखि

प्रश्नहरूको धारे ढु‌ङ्गामा उब्जाएर राखेको बेचैनीको तरबार

टिपेको छु दिमागी डायरीमा

र राजधानीसम्मको ठेगाना ।

हो, महाशय !

म भर्खरै

तिमीले उधारो सपना बेचेर गएको

त्यही सुदूर ठेगानाबाट प्रश्न गरिरहेछु

जस्तो कि, यता झुपडीमा जस्तै कहिलेकाहीँ

हुन्छ कि हुँदैन तिम्रो अगेनामा चिसो चुलो ?

भत्काउँछ, भत्काउँदैन वर्षे झरीले मन

र आफ्नै हत्केला बिछ्‌याएर बनाएको मायाको घर ?

उडाउँछ उडाउँदैन दुःख र अभावको हुरीले

तिम्रो रङ्गीन सपनाको छानो ?

कि अघाउँछ सुदूरमा पहिरो गएको खबरले

तिम्रो भोकको साम्राज्य ?

के कहिल्यै तिमीले

उठाउनुपूर्व लहलह तिम्रा सपनाको फाँटहरूमा

पहिरो गएको भोगेका छौ ? कि देखेका छौ ?

वर्षे बाढीमा घरसँगै डुब्दै उत्रदै बगिरहेका

बा, आमा र नानीहरू ?

हेर,

यता, राजधानीबाहिर पनि छ देश,

राजधानी बाहिर पनि

राजधानीको जस्तै इच्छा, सपना र

आवश्यकताको आकाश छ ।

यता वर्षातले घरसँगै चिस्याउँछ

जाउली पाक्दै गरेको अगेनो

र चिस्याउँछ मनसँगै आँखाको आँसु पनि

बरु एकोहोरो तातिन्छ रगत ।

किन बग्दैन तिम्रो राजधानीमा संवेदना ?

झलमल उज्यालो हुन्छ तिम्रो राजधानी

किन अँध्यारो छ

तिमीले भर्खरै सपना बेचिगएको

यो सुदूर गाउको अनुहार ?

भन, देशभित्र राजधानी हुन्छ कि

राजधानीभित्र हुन्छ देश ?

महाशय !

के अब मैले देशभित्रै अर्को देश खोज्नुपर्ने हो ?

कि खोज्नुपर्ने हो युद्धमा छापामारहरूले

छाडिआएको खन्जरहरूको सन्दुक ?

म तिम्रै हस्ताक्षरित नागरिकता बोकेर

असली देश खोजिरहेछु र

हेर्दै छु यो देशको नक्सा र उसले ओगटेको आकाश ।

लौ तिमी नै भन,

के यो ढुङ्गा-माटो मात्रै हो देश ?

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.