साहित्यपोस्ट डट कम

कविता : प्रशंसा

कविता : प्रशंसा

गणतन्त्रको खास्टो ओढेर

सङ्घीयताको गाथा जोडेर

लाञ्छनाको तानाबाना बुनेर घ्यू बेचुवा

तरबार बेचुवा कथा जस्तै

स्वाँठका नियति बुझिनसक्नुको छ।

थाहा छ होला नि !

त्यो दिन मुखपत्र अघि राखेर वाक् स्वतन्त्रता रटाएथ्यौ

निःशुल्क संविधान उपहार पठाएथ्यौ ।

प्रजातान्त्रिक अभ्यास भन्दै प्राज्ञिक बहस चलाएथ्यौ

नीति, विधि, पद्धति लतारेर के-के ढलाएथ्यौ !

लटरम्म दण्डहीनता फलाएथ्यौ ।

शिक्षाप्रेमी, विकासप्रेमी, समाजसेवी खुबै क्रान्तिका हिमायती हुँ भन्थ्यौ !

तर शिक्षाको तारामण्डल छानो,

निकासबिनाको विकासको खाटो,

धाँजा-धाँजा परेको समाजको बाटो जस्ताको तस्तै छ ।

अनि फेरि— शिक्षा-सारथिलाई गलत नजिरले हेर्दै

निगरानी राख्दै, पुर्जी जारी गर्दै

ढोका थुनेर किन स्पष्टीकरण माग्छौ ?

बिरालोलाई ढोका थुनेर तर्साउन खोज्दा

आउने प्रतिफल फलदायी होला त महोदय ?

तिमीलाई देवत्व ठान्ने चाप्लुसीले भजाएकै भरमा

कति दिन टिकिरहन सक्छौ ?

कालोलाई कालो भन्दा, तिल्केलाई तिल्के भन्दा

भरौटेहरूका मथिङ्गल किन खल्बलिन्छ ?

न्वारनदेखिकै शक्ति लगाएर श्रमजीवी कलमको खेदो खनेर किन थाक्दैनौ ?

सञ्जालको बिस्कुन हेरेर दिनचर्या बिताउँदै अरूकै कठपुतली भएर

अरूकै छलाङ यात्रालाई बाटो देखाउन कुहिराको काग झैँ

काँ… काँ… काँ… गर्दै किन कराइरहन्छौ ?

सबैले ससम्मान बाँच्न पाउनुपर्छ भन्दा

सेवा गरेपछि मेवा पाउनुपर्छ भन्दा

तिम्रा गौरवशाली हृदयमा पराकम्प किन आयो ?

भनिदेऊ त महोदय— ती गुनासो पोख्नेहरू कसरी अराजक भए ?

के तिनीहरूले तिमीले झैँ यो धर्तीमा टेक्नै नहुने हो ?

के भूतल तिम्रै बिर्ता हो ?

ए सर्वहाराको नेतृत्वज्यू ! यसो सोचविचार गर त

के तिम्रै निगाहमा चल्नु मात्रै प्रजातान्त्रिक हो ?

के तिम्रै आस्थाको झण्डा ओढेर, तिम्रै पाउ ढोगेर

तिम्रै भजन जपेर, साहारा पीडा खपेर

तिम्रै भागमा आँसु थपेर हिँड्नुपर्ने हो ?

तिम्रा निकृष्ट गालीलाई आशीर्वाद ग्रहण गर्नुपर्ने हो ?

आफ्नो सजीव त्यो कुरुप अनुहार सफा गर्न छाडेर

निर्जीव ऐनालाई किन दोष दिन्छौ ? ए महाशय भन त

छातीमा हात राखेर, मरेर जाँदा के लान्छौ ?

आखिर दुश्मनी केका लागि ?

तसर्थ— पृथ्वी गोलो छ

आलोपालो सबैको आउँछ ।

प्रकृतितर्फ हेर त

दिनपछि रात, रातपछि दिन

एक माघले जाडो जाँदैन !

सक्छौ राम्रो गर

सक्दैनौ नराम्रो गर्दै नगर।

आशीर्वाद दिऊँला

हाकिम बन

तर झुक्किएर पनि ‘हाकिमी प्रवृत्ति’ सदाको लागि बन्द गर ।

अन्ततोगत्वा— तिमी र ऊभित्र रगतको रङ्ग उही छ

आगो र पानी उही छ

प्राणवायु उही छ ।

बाँचुञ्जेल बस्ने बास

अन्तिममा जाने घाट उही छ

जन्ती र मलामी उही छ ।

फरक यति छ कि

तिम्रो दिनदिनै तात्ने चुल्हो

अनि उसको… बल्लतल्ल तीन-चार महिनामा तात्ने चुल्हो !

‘भोकाएकाले भन्छ डाँडावारि खाऊँ

अघाएकाले भन्छ डाँडापारि खाऊँ ।

कुरो बुझ्यौ होला नि

डाडु-पन्यु समात्ने हातलाई चम्चाले बिगार्ला

होस गर !

कथम कदाचित् मेरा भन्ट्याङभुन्टुङ पढाउने गुरुहरूलाई

भोको भएको, पेट कसेको… कहिल्यै स्वयम्भूका आँखाले देख्न नपरोस्।

भावी घडीमा तिम्रा आत्मालाई शुद्धीकरण गरेर आऊ

आमा, शिक्षा र ज्ञानलाई निष्पक्ष हँसाऊ

परलोकको लागि ठाउँ बनाएर जाऊ

अनि मात्र तिम्रा असल व्यवहारको खुलेर प्रशंसा गरिरहन पाऊँ !

खुलेर प्रशंसा गरिरहन पाऊँ !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.