गणतन्त्रको खास्टो ओढेर
सङ्घीयताको गाथा जोडेर
लाञ्छनाको तानाबाना बुनेर घ्यू बेचुवा
तरबार बेचुवा कथा जस्तै
स्वाँठका नियति बुझिनसक्नुको छ।
थाहा छ होला नि !
त्यो दिन मुखपत्र अघि राखेर वाक् स्वतन्त्रता रटाएथ्यौ
निःशुल्क संविधान उपहार पठाएथ्यौ ।
प्रजातान्त्रिक अभ्यास भन्दै प्राज्ञिक बहस चलाएथ्यौ
नीति, विधि, पद्धति लतारेर के-के ढलाएथ्यौ !
लटरम्म दण्डहीनता फलाएथ्यौ ।
शिक्षाप्रेमी, विकासप्रेमी, समाजसेवी खुबै क्रान्तिका हिमायती हुँ भन्थ्यौ !
तर शिक्षाको तारामण्डल छानो,
निकासबिनाको विकासको खाटो,
धाँजा-धाँजा परेको समाजको बाटो जस्ताको तस्तै छ ।
अनि फेरि— शिक्षा-सारथिलाई गलत नजिरले हेर्दै
निगरानी राख्दै, पुर्जी जारी गर्दै
ढोका थुनेर किन स्पष्टीकरण माग्छौ ?
बिरालोलाई ढोका थुनेर तर्साउन खोज्दा
आउने प्रतिफल फलदायी होला त महोदय ?
तिमीलाई देवत्व ठान्ने चाप्लुसीले भजाएकै भरमा
कति दिन टिकिरहन सक्छौ ?
कालोलाई कालो भन्दा, तिल्केलाई तिल्के भन्दा
भरौटेहरूका मथिङ्गल किन खल्बलिन्छ ?
न्वारनदेखिकै शक्ति लगाएर श्रमजीवी कलमको खेदो खनेर किन थाक्दैनौ ?
सञ्जालको बिस्कुन हेरेर दिनचर्या बिताउँदै अरूकै कठपुतली भएर
अरूकै छलाङ यात्रालाई बाटो देखाउन कुहिराको काग झैँ
काँ… काँ… काँ… गर्दै किन कराइरहन्छौ ?
सबैले ससम्मान बाँच्न पाउनुपर्छ भन्दा
सेवा गरेपछि मेवा पाउनुपर्छ भन्दा
तिम्रा गौरवशाली हृदयमा पराकम्प किन आयो ?
भनिदेऊ त महोदय— ती गुनासो पोख्नेहरू कसरी अराजक भए ?
के तिनीहरूले तिमीले झैँ यो धर्तीमा टेक्नै नहुने हो ?
के भूतल तिम्रै बिर्ता हो ?
ए सर्वहाराको नेतृत्वज्यू ! यसो सोचविचार गर त
के तिम्रै निगाहमा चल्नु मात्रै प्रजातान्त्रिक हो ?
के तिम्रै आस्थाको झण्डा ओढेर, तिम्रै पाउ ढोगेर
तिम्रै भजन जपेर, साहारा पीडा खपेर
तिम्रै भागमा आँसु थपेर हिँड्नुपर्ने हो ?
तिम्रा निकृष्ट गालीलाई आशीर्वाद ग्रहण गर्नुपर्ने हो ?
आफ्नो सजीव त्यो कुरुप अनुहार सफा गर्न छाडेर
निर्जीव ऐनालाई किन दोष दिन्छौ ? ए महाशय भन त
छातीमा हात राखेर, मरेर जाँदा के लान्छौ ?
आखिर दुश्मनी केका लागि ?
तसर्थ— पृथ्वी गोलो छ
आलोपालो सबैको आउँछ ।
प्रकृतितर्फ हेर त
दिनपछि रात, रातपछि दिन
एक माघले जाडो जाँदैन !
सक्छौ राम्रो गर
सक्दैनौ नराम्रो गर्दै नगर।
आशीर्वाद दिऊँला
हाकिम बन
तर झुक्किएर पनि ‘हाकिमी प्रवृत्ति’ सदाको लागि बन्द गर ।
अन्ततोगत्वा— तिमी र ऊभित्र रगतको रङ्ग उही छ
आगो र पानी उही छ
प्राणवायु उही छ ।
बाँचुञ्जेल बस्ने बास
अन्तिममा जाने घाट उही छ
जन्ती र मलामी उही छ ।
फरक यति छ कि
तिम्रो दिनदिनै तात्ने चुल्हो
अनि उसको… बल्लतल्ल तीन-चार महिनामा तात्ने चुल्हो !
‘भोकाएकाले भन्छ डाँडावारि खाऊँ
अघाएकाले भन्छ डाँडापारि खाऊँ ।
कुरो बुझ्यौ होला नि
डाडु-पन्यु समात्ने हातलाई चम्चाले बिगार्ला
होस गर !
कथम कदाचित् मेरा भन्ट्याङभुन्टुङ पढाउने गुरुहरूलाई
भोको भएको, पेट कसेको… कहिल्यै स्वयम्भूका आँखाले देख्न नपरोस्।
भावी घडीमा तिम्रा आत्मालाई शुद्धीकरण गरेर आऊ
आमा, शिक्षा र ज्ञानलाई निष्पक्ष हँसाऊ
परलोकको लागि ठाउँ बनाएर जाऊ
अनि मात्र तिम्रा असल व्यवहारको खुलेर प्रशंसा गरिरहन पाऊँ !
खुलेर प्रशंसा गरिरहन पाऊँ !

