शिशिरको मध्यतिर
सहरको कल्याङमल्याङबाट बेखबर भई
सडक-पेटीभरि
मौन सुतिरहेछन् पहेँलपुर पातहरू
खुइले तालुझैँ
सर्वाङ्ग नाङ्गै उभिएका छन् लहरे पिपलका वृक्षहरू ।
ठिहिर्याउने चिसो बताससित जुझ्दै
हाँगाका कापमा आफ्नो संसार बुन्दैछन् चराहरू
पस्किँदै आफ्नै शिल्प
र पोत्दै आफ्नै पसिनाको रङ
जहाँ नयाँ जीवनले एउटा आकार लिन्छ
लाग्छ
प्रकृति, सिर्जना सिकाउने एउटा मौन पाठशाला हो ।
अनुकरणीय छ तिनको जिजीविषा
जो कसैको आशाबेगर
स्वकर्ममा रमाउँछन्
दुष्कर्मदेखि डराउँछन्
र अथकित सङ्घर्षमा जीवनको उडान भरिरहन्छन्।
तर, सहरको घनत्व बाक्लिँदै
र बोटबिरुवाहरू पातलिँदै जाँदा
हम्मे-हम्मे परेको छ बिचराहरूलाई
गुँड अड्याउने सुरक्षित थलो
र मौलिक सामग्री सहजै भेटाउन ।
सुरक्षित वासस्थान र प्रजननको अनुकूलता
झनै ठूलो चुनौती बनेको छ।
सहर कङ्क्रिटको घना जङ्गल बन्दै गएपछि
के गरून् ती निरीह जीवहरू ?
“अड्को पड्को तेलको धुप”
अचेल कागज र प्लास्टिकका टुक्राटाक्री
अनि बोरा, डोरीका झुत्राझुत्रीजस्ता कृत्रिम सामग्री जोडजाम गरेर
गुजारा चलाउन बाध्य छन् यिनीहरू
आखिर अस्तित्व रक्षा
र वंश-निरन्तरताको मोह
यो जगत्मा कसलाई हुँदैन र ?

