साहित्यपोस्ट डट कम

कविता : प्रकृति सिर्जनाको मौन पाठशाला

कविता : प्रकृति सिर्जनाको मौन पाठशाला

शिशिरको मध्यतिर

सहरको कल्याङमल्याङबाट बेखबर भई

सडक-पेटीभरि

मौन सुतिरहेछन् पहेँलपुर पातहरू

खुइले तालुझैँ

सर्वाङ्ग नाङ्गै उभिएका छन् लहरे पिपलका वृक्षहरू ।

ठिहिर्‍याउने चिसो बताससित जुझ्दै

हाँगाका कापमा आफ्नो संसार बुन्दैछन् चराहरू

पस्किँदै आफ्नै शिल्प

र पोत्दै आफ्नै पसिनाको रङ

जहाँ नयाँ जीवनले एउटा आकार लिन्छ

लाग्छ

प्रकृति, सिर्जना सिकाउने एउटा मौन पाठशाला हो ।

अनुकरणीय छ तिनको जिजीविषा

जो कसैको आशाबेगर

स्वकर्ममा रमाउँछन्

दुष्कर्मदेखि डराउँछन्

र अथकित सङ्घर्षमा जीवनको उडान भरिरहन्छन्।

तर, सहरको घनत्व बाक्लिँदै

र बोटबिरुवाहरू पातलिँदै जाँदा

हम्मे-हम्मे परेको छ बिचराहरूलाई

गुँड अड्याउने सुरक्षित थलो

र मौलिक सामग्री सहजै भेटाउन ।

सुरक्षित वासस्थान र प्रजननको अनुकूलता

झनै ठूलो चुनौती बनेको छ।

सहर कङ्क्रिटको घना जङ्गल बन्दै गएपछि

के गरून् ती निरीह जीवहरू ?

“अड्को पड्को तेलको धुप”

अचेल कागज र प्लास्टिकका टुक्राटाक्री

अनि बोरा, डोरीका झुत्राझुत्रीजस्ता कृत्रिम सामग्री जोडजाम गरेर

गुजारा चलाउन बाध्य छन् यिनीहरू

आखिर अस्तित्व रक्षा

र वंश-निरन्तरताको मोह

यो जगत्मा कसलाई हुँदैन र ?

ट्याग: दधि कँडेल
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.