हावाको एक झोक्कामै झरिजाने
घामको एक रापमै ओइलीजाने
छैन म त्यो फूलजस्तो कमजोर ।
जसलाई जथाभावी छुन खोज्यौ भने रक्तमुछेल पारिदिने
बरु म त्यो जहरिलो काँडा हुँ
म मै जस्तो सुन्दर छु ।
प्रिय मान्छे !
मलाई कुनै सुन्दर फूलको बिम्ब दिएर नबोलाउनु है !
म कुनै फूल होइन ।
म पनि फूलजत्तिकै सुकोमल र नौनीझैँ नरम छु
मेरा आँखाबाट पनि सुसाइरहन्छन् ब्राह्मायणी र वेद्रावती
मभित्र पनि उर्लिरहन्छ इन्द्रावती ।
मभित्र पनि बलिरहेछ जीवनको दियालो
मभित्र पनि बयली खेलिरहन्छन्
भावुकताका सिमलभुवाहरू ।
बरु म जीवनदायिनी नदी पो हुँ ।
प्रिय मान्छे !
मलाई “ढुङ्गाको मुटु भएको” भनी गाली नगर्नु है !
म कुनै निर्जीव पत्थर होइन ।
समय–समयमा उर्लिरहन्छन् मभित्र आँधीबेहेरी
समय–समयमा उम्लिरहन्छन् ज्वालामुखीका ज्वारभाटा ।
मसानघाटको मुर्दा शान्ति छैन ममा
मेरो अन्तस्करणमा वेगले आकासिन्छ कोलाहलको पहाड ।
पुत्पुताइरहेछ मुटु, उत्पीडनको रापले
शान्त र शीतल कतै छैन म ।
बरु म एक भर्भराउँदो आगो हुँ ।
प्रिय मान्छे !
मलाई शान्त र शीतल चन्द्रमा जस्ती भनेर नबोलाउनु है !
म कुनै हिउँ मान्छे होइन ।
मभित्र हजारौँ वर्षदेखिको उत्पीडनको पीडाबोधले विद्रोह गरिरहेछ
मुक्तिको उत्कट इच्छाले मेरो मथिङ्गल झन्झनाइरहेछ ।
म देख्न सक्छु, म हिँड्न सक्छु, म बोल्न सक्छु
मलाई अँध्यारो रातको शून्यता नठान्नु ।
बरु म त्यो उज्यालो चेतना हुँ ।
प्रिय मान्छे !
मेरो शिरमा देवी, माता, लक्ष्मी र सरस्वतीको पगरी नगुथ्नु है !
मलाई सहनशीला–सुशीलाको खादा नओढाउनु है !
म एक जिउँदो नारी हुँ
म कुनै ईश्वरको थपना होइन ।

