हावामा उडिरहेको एउटा बीउको कण
कागको चुच्चोमा चढ्दै
पक्की पर्खालको गारोमा अचानक उछिट्टिन्छ
रिक्त ध्वान्द्रोलाई अँठ्याएर
कण फुट्छ एउटा पीपल रुखको ।
मियोमा धागो बटारेजस्तै
त्यसका तन्तुजस्तै जराहरूले
पक्की पर्खालमा चक्कर लगाए
मुख्य जराले मुटुलाई छेड्यो
अनि अड्कियो त्यहीँ
झुण्डिरहने बगैँचाको रूपले
पक्कीको फाँटैमा ।
भूमि समातिरहेका रुखहरूले
पीपलको रुखलाई हेर्दै सुधो स्वरमा भन्न लागे
‘आ.. म्मौ ..य….त्ति.. अ….ग्लो !’
पीपलले सोच्यो
महाशून्य त मुफत मै भेटेँ
तर भूमिसम्म पो धेरै टाढा रहेछ !
भोक बिस्तारै बढ्दै जान्छ ।
मूल असमिया: अर्चना पुजारी
अनुवाद: डा. देवेन सापकोटा

