साहित्यपोस्ट डट कम

कविता : पहरेदार जनता

कविता : पहरेदार जनता

छिमेकीका पैतालाले

सार्वभौम देशको सिमाना

कुल्चँदा

वर्दीधारीले हतियार

बोकेर

आफ्नै भूमिमा परेड

खेल्दा

देखेनछ राज्यले

देखेछन् स्वयम्भूका

चक्षुले

सम्झेछन् जनताले

नालापानी र कुमाउमा जस्तै

मिचाहालाई खुकुरीले

खेदेको ।

सिमानाको रेखा त

छिमेकीको भावनामा

कोरिनुपर्छ

कानुनको विधिमा

बाँधिएको हुनुपर्छ ।

भूगोल केवल जमिनको

टुक्रा मात्र होइन

स्वाभिमानी देशको अस्तित्व हो

जसको रक्षाका लागि

हरेक नागरिक उठ्नु

पर्छ

एकतामा जुट्नु पर्छ ।

कागजका नक्साका

रेखाहरू मेटिए पनि

पुर्खाको रगतले

कोरिएको देशको नक्सा

नेपाली मनबाट मेटिएको छैन ।

आधुनिक हतियार नभए

पनि

आँखामा मातृभूमिको

तस्बिर

प्रतिविम्बित भएर

झल्केको छ

त्यही तस्बिर नै

सीमा मिच्नेलाई

ठिङ्ङ उभिएर चुनौती

दिएको छ ।

छिमेकीको औँलाले परपर सिमाना देखाउँदा

नेपालीको छाती चसक्क दुख्छ

इतिहास साक्षी छ

झुक्न सिकेनौँ हामीले ।

पहरा दिने सिपाही मात्र होइनन्

आपतविपद्

सिङ्गो देश पहरेदार बन्ने गर्छ

न्याय र स्वाभिमानको लडाइँमा

नेपाली मन ढाल बनेर उभिने गर्छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.