साहित्यपोस्ट डट कम

कविता : नेयमार अभागी राजकुमार

कविता : नेयमार अभागी राजकुमार

जोगा बोनिटो घन्कने

ब्राजिलका

साँघुरा गल्लीहरूमा ।

खाली खुट्टा र मोजाका बलहरू रमाउने

खाल्डाखुल्डी बाटोहरूमा

डम्पिङ साइटको परिवेशवरपर

हिलोमा फुलिरहेका कमलहरूबीच

फुलेको सबैभन्दा सुन्दर कमल हौ नेयमार !

तिम्रो घर, संसार र

सर्वस्व— सधैँ मैदान भयो ।

तिम्रो परिवार, आफन्त र साथी— सधैँ फुटबल भयो ।

पेले, रोनाल्डो र रोनाल्डिनोहरूको पदचाप

पछ्याउँदै

मेरो छिमेकी कान्छामान दाइले

आरनमा रातो बनाउँदै कुटेको फलामजस्तो

मिहिनेतले सपनालाई आकार दिइरह्यौ ।

गीतको लय भनौँ या साहित्यको रस

युद्धको कौशल भनौँ या कृष्णको भन्दा बढ्ता लीला

कुनै जादुभन्दा कम छैन

तिम्रो खुट्टाले लेखिरहेको जिङ्गा ।

तिमी मैदानमा र तिम्रो खुट्टामा बल हुँदा

लाग्छ हावामा लठ्ठिएर नाचिरहेझैँ फूलहरू

जुन घाम र बादल मिलेर खेलिरहेझैँ लुकामारी ।

यस्तो लाग्छ तिमी आँधी पनि हौ

गाह्रो पर्छ तिम्रोसामु सम्हालिन

पोथ्राझैँ विपक्षीहरूलाई ।

राजा बन्न नसकेको ए ! राजकुमार

तिमी बेन्चमा बसिरहेको दिन

मैदानमा भन्दा बढ्ता थकित देख्छु र भक्कानिन्छु ।

लाग्छ

तिमी एक नै एघारमा बाँडिएर दौडिरहेछौ ।

त्यसो त

आफ्नै आँखाअगाडि

विपक्षीहरूको दबाब हेर्दै गर्दा

कति भोल्टेजको चट्याङ सहनुपर्ला त्यो मुटुले

कति बेगको रगत थेग्नुपर्ला तिम्रा धमनीले ?

साच्चै !

तिमी नीलकण्ठ हौ चोटहरू हाँसेर पिइदिने ।

के छ ? थाहा छैन

यदि नलेखिएको रहेछ भने पनि सुनौलो अक्षरले तिम्रो

भाग्यको अन्तिम पृष्ठ ।

भन्नेहरूले भनिरहे पनि अभागी राजकुमार

वर्षौँवर्षसम्म रहिरहनेछौ हजारौँ हृदयहरूमा

सङ्घर्ष, सपना र आत्मविश्वासको राजा बनेर ।

हो, रहिरहनेछौ नेयमार तिमी

हीराजस्ता हृदयहरूमा राजा बनेर ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.