साहित्यपोस्ट डट कम

कविता : नौलो लाग्दछ

कविता : नौलो लाग्दछ

नौलो लाग्दछ खेल यो किन नि यो ? जो दैनिकी नै थियो

बल्दो धप्-धप तेजिलो मगजको, मुर्झाउँदो यो दियो !

खेलाडी सहसा सहर्ष पहिले, दुर्छेउलो गाई झैँ

हट्छन् ती किन हो पछाडि अहिले, गाह्रो भयो बुझ्न नै !

रेफ्रीको सुरिलो सिठी मलिन भो, गाह्रो भयो सुन्न नि

मैदानैभरि पो छ काँस र धुलो, तृष्णा छ बढ्दो झनै ।

बाँकी यो छ कतै अझै पनि अहो ! खेल्ने कला उत्तिकै

लागेको लत यो स्वाभाविक न हो, जान्थ्यो कहाँ त्यत्तिकै ।

चाहे घायल वा अशक्त बिचरो, आरोहको मोह त्यो

आँखामा रमिता सँगाल्छ र कठै, रम्दै र नाच्दो छ पो !

टिकटक नाच रमाइला र रसिला, लाग्दा झनै दिन्दिन

वासन्ती वनका गला पवनका, ब्युँझाउँछन् छिन्छिन ।

रम्छे रूप र रागमा प्रकृति यो, बस्छे सिँगारी सधैँ

देखिन्छे रमणी अनेक स्वरूपमा, हिमचुलीका रङ्ग झैँ ।

गङ्गा सागरमा पुगे नि हलचल; चम्किन्छ हीरा सधैँ !

ह्वीस्की जति पुरानियो नि झनझन्, स्वादिष्ट स्वादिष्ट नै ।

उर्लिन्थ्यो सतही उभार पहिले, अन्तःस्थमा बस्छ यो

अन्त्येष्टि तक चल्छ दिव्य रित हो; रोकेर रोकिन्न यो ।

ऊर्जा अन्न र तोयको छ नसिलो, मारेर मर्दैन यो

जारी राख्छ रमाउँदै नि जबतक, खरानी बन्दैन यो !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.