साहित्यपोस्ट डट कम

कविता : नदीछेउको झिँगटीघर

कविता : नदीछेउको झिँगटीघर

शताब्दीयौँदेखि नदीको काखमा

उभिएका झिँगटीघरका छानाहरू

नदीकै सास फेर्दै बाँचिरहेका हुन् ।

त्यसैको ओतमा नदीसँग मौन सम्झौता गर्दै

तिनकै लय, भरोसा र सहअस्तित्वमा

बग्दै आएको हो मछुवाको नाउरूपी जीवन।

कहिलेकाहीँ नदी उर्लिँदा, मात्तिँदा,

गर्जिँदा पनि मैमत्ता बैँसको क्षणिक चुरीफुरी ठानेर

कहिल्यै आत्तिएन मछुवा ।

उसले बुझेको थियो

नदीको उन्मत्तता मान्छेको

क्षणिक आवेगको उछालजस्तै हो ।

मौन विश्वासको जग प्रगाढ र अटल थियो

र त, किनारमा नाउलाई नदीकै जिम्मा छोडेर

झोपडीको ओत लाग्न फर्किन्थ्यो मछुवा

पसिनाको फल र नदीको आशीर्वाद बोकेर ।

नदीको नित्य बहावजस्तै जीवनको निरन्तरता थियो

नदी र झोपडीको यात्रा ।

तर समयसँगै नदीको आँखा

प्रदूषणको मोतियाबिन्दुले छोप्यो ।

पानीको ऐना धमिलिँदै गयो

जीवनको प्रतिबिम्ब हराउँदै गयो ।

जाल र दुवालीको भरमा मछुवाको

चुल्होमा धुवाँ पुत्ताउन छाड्यो।

माछा कुरिबस्ने बकुल्ला र किङ्गफिसरहरू,

हरेक हिउँदे ऋतुमा दूर देशबाट

आउने पाहुना चराहरू, जलक्रीडा गर्दै

माया–पिरतीमा मस्त चखेवा जोडीहरू

आश्रित जलचरहरू पातलिँदै–पातलिँदै

गइरहेका छन् नदीको काखमा ।

हिजोसम्म खुसी–खुसी आफ्नो कोमल

काखमा सुताएर सुनौला घामको न्यानो ओढाउने

ती बगरहरू आधुनिकताका तीखा सिसा

र प्लास्टिकका चोटले आफैँ क्षत–विक्षत छन् ।

आगन्तुकका रङ्गीन सपनाहरू रङ्गहीन भएका छन्

र दुर्गन्धित फोहोरको थुप्रोमा पुरिएका छन् ।

बगरहरू मौन छन्, विवश छन्,

तर मौनताभित्र पीडाको एउटा करुण चित्कार गुन्जिरहेछ ।

मछुवा पनि कम उपेक्षित छैन,

जसले कहिल्यै नदीको विकल्प खोजेन ।

तर आजकल नदीमा

जीवनको फसल फल्न छोडिसकेको छ

बरु त्यही नदी उन्मत्त भएर अपरिचित शत्रुले जस्तै

उसको नाउ खोसेर लैजान्छ

झिँगटीघर ढक्ढकाउन र लतार्न आउँछ ।

जब युगौँदेखिको भरोसा ‘परचक्री’

अवतारमा प्रकट हुन्छ

तब निरीह मछुवाको विश्वास मात्र डगमगाउँदैन,

प्रकृतिको न्यायप्रति नै संशय पैदा हुन्छ।

धिक्कार छ— विकासको मखुण्डो ओढेका

प्रकृति–द्रोहीहरूलाई !

जो विकासको मृगतृष्णा र प्रविधिको

शिखर चुम्ने अन्ध–होडमा निर्ममताले

कल्याणी धरतीको वक्षस्थल चिथोर्दै

अन्तरसम्बन्धका कोमल नसा चुँडाइरहेछन्।

आज तिनैको दुष्कर्मको घोडा चढेर

विपद् ‘ताण्डव–नृत्य’ गरिरहेछ।

अब विकासको मखमली पर्दाभित्र

निस्सासिएको पर्यावरणीय सङ्कटको

अन्तर्य खोतल्नुपर्ने भएको छ ।

ढक्ढक्याइरहेछ एउटा ज्वलन्त प्रश्नले

समयको ढोका— के सीमित उन्मत्त महत्त्वाकांक्षीहरूले

निम्त्याएको विनाशको मूल्य ‘विकास–वृक्ष’ को फलबाट

सदैव वञ्चित— तिनै बेकसूर मछुवा

र किनाराकृतहरूले सबैभन्दा बढी चुकाउनुपर्ने हो ?

ट्याग: दधि कँडेल
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.