साहित्यपोस्ट डट कम

कविता : मेरो पनि घोषणापत्र छ

कविता : मेरो पनि घोषणापत्र छ

मेरो पनि घोषणापत्र छ (१)

म मतदाता मात्र हुँ तर

मेरो पनि घोषणापत्र छ !

खन्ती लुकाएर साधुभेषमा आएका चोरहरूलाई भोट नदिने

कण्ठमा विष राखेर वाणीभेषमा आएका सुमधुर स्वरहरूलाई भोट नदिने ।

गनाएका फोहोरहरूलाई भोट नदिने

हाम्रै खल्ती काटेर हामीलाई नै

किन्न आएका मोहरहरूलाई भोट नदिने ।

सिङ्गै देशलाई पन्छाएर

आफ्नै स्वार्थमा जुट्नेहरूलाई भोट नदिने ।

एउटा पुल बनाउँदा

दुइटा पुल लुट्नेहरूलाई भोट नदिने ।

आफैँ हलो अड्काएर

गोरु कुट्नेहरूलाई भोट नदिने ।

रातदिन उधारो सपना बाँडेर

दिमाग फुट्नेहरूलाई भोट नदिने।

आज पनि म भोको छु…

मेरै छाक काट्नेहरूलाई भोट नदिने ।

जे भने पनि पत्याउनु मेरो पनि गल्ती हो

गीता छोएर सधैँ ढाँट्नेहरूलाई भोट नदिने ।

मेरो पनि घोषणापत्र छ (२)

जसको शिरमा देश छ

हृदयमा भगवान् छ

र वाणीमा अमृत छ

म उसलाई भोट दिन्छु ।

जसको कर्ममा निष्ठा छ

जसको विश्वासमा भरोसा छ

र जसको सपनामा समृद्धि छ

म उसलाई भोट दिन्छु ।

जसको रगतमा छहरा छ

जसको छातीमा पहरा छ

र सत्य जसको सहारा छ

म उसलाई भोट दिन्छु ।

जसले सम्भावनाको बाटो देखाउँछ

पसिना रोप्ने उर्वर माटो देखाउँछ

र म रोएको आँसु

जसले आफ्नो आँखामा देखाउँछ

म उसलाई भोट दिन्छु ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.