प्रिय जीवन जिउन सिकाउने स्कुल
तिमीलाई कस्तो छ हिजोआज ?
समतल सतहको एउटा सुन्दर ठाउँ
निरन्तर कर्मी मौरीहरू भुन्भुनाइरहने
एउटा गाउँ जसले धेरै–धेरै
‘म’हरूलाई जीवन पढायो
भूमि र भास्करको सम्बन्ध चिनायो,
जल र जमिनको महत्त्व बुझायो
हो, म उसैलाई सोध्दै छु ।
प्रिय ठाउँ
तिमीलाई कस्तो छ हिजोआज ?
“सब दुःख नही भागल…”
को गीतसँगै पसिनाले भिजेको शरीरले
सूर्योदयलाई स्वागत गर्दै श्रमको विज्ञान पढाउने पाठशाला—
तिमीलाई कस्तो छ हिजोआज ?
हिजोको अँध्यारोमा पूर्व क्षितिजतिर
औँल्याउँदै नदेखिएको आगतको उत्खनन गर्ने
निदाएका तागतको आकलन गर्ने जादुगर
तन्नेरीको खबर तिमीले सुन्यौ कि ?
सम्भावनाको ‘आभा’ देखाउने
त्यो मान्छेले हिउँदमा रातभरि ‘घुर’ बालेर
बिहानीका कथाहरू भन्ने उक्त व्यक्तिले
काल्पनिक स्वर्गको सहरलाई धर्तीमा झारिरहेजस्तो
आभास दिने सो पात्रले
हिजोआज सफलताको टाकुरा चुमेको सुनेँ
नयाँ–नौलाहरूसँग झुमेको सुनेँ।
खोला तर्नेहरूको लौरोको रूपमा अभिशप्त
मेरो प्रिय बस्ती, तिमीले पनि सुन्यौ कि ?
भोकमा दुई मुठी सातु बाँडेकोसँग
अप्ठेरोमा निदाउन खोज्दा गुन्द्रीको आधा भाग छाडेकोसँग
उसकै इच्छामा सुर्ती माडेकोसँग
टार्न नसकिएको आग्रहको प्रत्युत्तरमा
बारुद बोकेकोसँग
युगीन सपनाको मूल्यमा
रगत पोखेकोसँग
अरूको जस्तै तिम्रो पनि कुनै गुनासो छ कि ?
यदि छ भने
हिजो जस्तै आज पनि
तिम्रै भुजाहरू बलशाली छन्
तिमीजस्तै खण्ड–खण्डहरू शक्तिशाली छन् ।
ढोका उघारेर हेर्यौ भने देख्नेछौ
लामो दिनको सुरुवात गर्न वसन्तलाई स्वागत गर्न
‘फागुन’ तिमीलाई कुरिरहेछ।

