कराएँ
आवाजको चर्कोपनले
तिमीलाई
मेरो स्वभावमा ढाल्न खोज्दै ।
फेरि कराएँ
मेरो स्वरलाई नै
सत्य सावित गर्न ।
हजार प्रश्नहरू रोपेँ
तिम्रो मौनताको माटोमा
एक-एक प्रश्न
उत्तरको भोकले
भित्रैदेखि गर्जिरहे
छटपटाइरहे ।
तर तिमी…
शब्दहरूको सिमानापारि उभिएर
सबै उत्तरहरू
समयको गर्भमा रोपिरह्यौ, खपिरह्यौ
र आफू
मौनताको उज्यालोमा
निर्विकार उभिइरह्यौ ।
मेरा प्रश्नहरू
गुन्जिरहे
आफ्नै प्रतिध्वनिमा ठोक्किँदै
र एक बिन्दुमा पुगेपछि
म आफैँ गल्दै गएँ
मेरा आवाजहरूको तेज
बिस्तारै क्षीण हुँदै गयो
मेरो स्वर थाक्दै गयो ।
…एकदिन
म पनि मौन भएँ, तिमीझैँ ।
आफ्नै भित्र फर्किएर हेर्दा
बल्ल स्पष्ट देखेँ
तिमीले नदिएका उत्तरहरू नै
मेरा लाखौँ प्रश्नहरूको
सही समाधान रहेछ ।
बल्ल बुझेँ
मौनता पनि त उत्तर हुँदो रहेछ
समय पनि शिक्षक हुँदो रहेछ ।

