साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : मौनताको उज्यालो

कविता : मौनताको उज्यालो

एक दिन
समयले मेरो हातमा
एउटा रित्तो पाना राख्यो र भन्यो
"आफ्नो कथा लेख ।"
तर
उसले कलम भने दिएन ।

सायद ऊ हेर्न चाहन्थ्यो
मानिसको सफलता मसीले लेखिएको हुन्छ
या कि आफ्नै रगतले ?

रित्तो पानामा लेखिन चाहेका
अनगिन्ती इतिहास स्मरणमा थिए
अव्यक्त पीडाहरू मनमा थिए
वर्षौंदेखि ती पोखिन चाहन्थे ।

मेरो स्पर्शबाट शब्द हुन
निकै समयदेखि प्रतीक्षारत थिए ।
तर विडम्बना
मसँग मौनताबाहेक अरू केही रहेन ।
अन्ततः ती पानाहरू हावाको जिम्मा लागे
र क्षितिजले आफैँमा समाहित गर्‍यो ।

त्यसपछि कति ऋतु फेरिए
कति वर्ष बिते
तर मलाई केही पत्तै भएन ।

सायद म
आफ्नै स्वरको प्रतिध्वनि समेत चिन्न नसक्ने गरी
आफैँबाट टाढिएको थिएँ ।

तर मेरा पाइतालाले
धूलोसँग मित्रता गाँसिरहेथे
र त पृथ्वीको स्पर्श
मेरो आदत बन्दै गयो ।

एक दिन धूलोले मुस्कुराउँदै भन्यो
"तिमी जति–जति माथि पुग्छौ
उति धेरै पृथ्वी सम्झिरहनू है ।”
किनकि आकाशले उचाइ दिन्छ
तर उभिने साहस सधैँ माटोले दिन्छ ।

र यो पनि नबिर्सनु
“जराहरू सतहमा देखिँदैनन्
तर रुखको हरियोपन भने
सधैँ तिनकै नाममा सजिइरहन्छ ।"

त्यस दिन मैले मौनतामै धेरै सिकेँ जस्तो लाग्यो
तर अरूलाई बुझाउन आवश्यक ठानिनँ ।
किनकि केही सत्यहरू शब्दमा बन्द हुँदा
अर्थमा मात्र सीमित हुन्छन् ।
तर मौनताले अँगालेपछि
समयभन्दा परसम्म अनन्त भइरहन्छन् ।

ट्याग: जय रिमाल
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.