गाग्री बोकेर पानी भर्न गएँ पँधेरामा
अचम्म ! गाग्रीलाई रुखका हाँगा र पातले मात्र होइन
हावा र पानीकै स्पर्शले पनि हिर्काइरहे
गाग्री रोइरह्यो आवाज निकालेर ।
जब गाग्री भरियो
तब उसको रुवाइ रोकियो
नयाँ खेलौना पाएको बच्चाझैँ ।
मुसलधारे पानी पर्यो मेघगर्जनसहित
बग्न थाल्यो खहरे ठुलो आवाज निकालेर
तीव्र गतिमा।
पानी थामिएपछि खहरे रोकियो
खहरेसँगै एउटा बुलन्द आवाज रोकियो
युद्धविरामपछि गोलाबारुद रोकिएझैँ ।
हेलिकोप्टर आयो गाउँमा भटटट गर्दै
सबैका आँखा ठोक्किए
गहिरो आकाशमा तैरिँदै उडिरहेको हेलिकोप्टरमाथि।
जब हेलिकोप्टरले भुइँ छोयो
तब उसको आवाज बन्द भयो
हड्डी पाएको कुकुरझैँ ।
मन्दिरमा घण्टा बजाइरहेथ्यो कसैले
त्यसको टङटङ तिखो आवाजले
वरिपरिको मौनता चिरिरहेथ्यो ।
रालो हल्लिन छोडेपछि घण्टाको आवाज रोकियो
हावा चल्न छोडेपछि बाँसको टुप्पो नहल्लिएझैँ ।
घाटको मझेरीमा सुताइएको थियो लास
रोइकराई गरिरहेथे मृतकका आफन्तहरू ।
कोलाहल र चित्कारको मुस्लो
फैलिइरहेथ्यो परपरसम्म
खरबारीमा सल्किएको आगोको लप्काझैँ ।
बल्ल बुझेँ, सायद सिकायो
अनुभवले, भोगाइले र दर्शनले
स्थायी मौनता स्वीकारेको लासले पनि
अस्थायी कोलाहल सहनुपर्दो रहेछ
आत्महत्या गर्न हिँडेको मान्छे भूत सम्झेर डराएझैँ ।

