साहित्यपोस्ट डट कम

कविता : मौनता

कविता : मौनता

गाग्री बोकेर पानी भर्न गएँ पँधेरामा

अचम्म ! गाग्रीलाई रुखका हाँगा र पातले मात्र होइन

हावा र पानीकै स्पर्शले पनि हिर्काइरहे

गाग्री रोइरह्यो आवाज निकालेर ।

जब गाग्री भरियो

तब उसको रुवाइ रोकियो

नयाँ खेलौना पाएको बच्चाझैँ ।

मुसलधारे पानी पर्यो मेघगर्जनसहित

बग्न थाल्यो खहरे ठुलो आवाज निकालेर

तीव्र गतिमा।

पानी थामिएपछि खहरे रोकियो

खहरेसँगै एउटा बुलन्द आवाज रोकियो

युद्धविरामपछि गोलाबारुद रोकिएझैँ ।

हेलिकोप्टर आयो गाउँमा भटटट गर्दै

सबैका आँखा ठोक्किए

गहिरो आकाशमा तैरिँदै उडिरहेको हेलिकोप्टरमाथि।

जब हेलिकोप्टरले भुइँ छोयो

तब उसको आवाज बन्द भयो

हड्डी पाएको कुकुरझैँ ।

मन्दिरमा घण्टा बजाइरहेथ्यो कसैले

त्यसको टङटङ तिखो आवाजले

वरिपरिको मौनता चिरिरहेथ्यो ।

रालो हल्लिन छोडेपछि घण्टाको आवाज रोकियो

हावा चल्न छोडेपछि बाँसको टुप्पो नहल्लिएझैँ ।

घाटको मझेरीमा सुताइएको थियो लास

रोइकराई गरिरहेथे मृतकका आफन्तहरू ।

कोलाहल र चित्कारको मुस्लो

फैलिइरहेथ्यो परपरसम्म

खरबारीमा सल्किएको आगोको लप्काझैँ ।

बल्ल बुझेँ, सायद सिकायो

अनुभवले, भोगाइले र दर्शनले

स्थायी मौनता स्वीकारेको लासले पनि

अस्थायी कोलाहल सहनुपर्दो रहेछ

आत्महत्या गर्न हिँडेको मान्छे भूत सम्झेर डराएझैँ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.