साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : मनसरा मगर्नी र भिक्टोरिया क्रस

कविता : मनसरा मगर्नी र भिक्टोरिया क्रस

इतिहासको आलो रगत पिएर
!! वर्तमान !!
स्वर्णयुगको गीत गाउन अभिशप्त छ
स्वर्णयुगको गीतिलयमा
कहाँ सुनिन्छ र ! भोकको मूर्च्छना ?
कहाँ देखिन्छ र ! अभावको जङ्घार ?
कहाँ लेखिन्छ र !
मनसरा मगर्नीको ऐँठनी कथा
मैले पढिरहेको छु
इतिहासको पानामा स्वर्णयुगको कथा
मैले पढिरहेको छु
पराजित इतिहासको गौरवपूर्ण गाथा

तर
तिमीले लेखेको वैभवताको इतिहासमा
कहाँ लेखिन्छ र
अन्यायको इतिहास ?
भोक मेटाउन लाहुरे भएका योद्धाको गाथामा
कहाँ लेखिन्छ र परिवार छोड्नुको पीडा ?
युद्धको मैदानमा मान्छे गिँडेर पाएको
भिक्टोरिया क्रसमा
कहाँ लेखिन्छ र ?
मनसरा मगर्नीको आँसुको कथा
भिक्टोरिया क्रस के वीरताको प्रतीक हो ?
या साम्राज्यवादी सत्ताको मृत्युखेती ?
पराया राष्ट्रवादको मुखण्डोमा
फगत् हामी मरिरहेछौँ
भिक्टोरिया क्रस घाँटीमा झुन्ड्याएर
लाचार भोकको तृप्तिमा !!
इतिहासको कोर्रा खाएर वर्तमान
हिनहिनाइरहेको छ
चन्द्रशमशेरको घोडाझैँ

सत्ताको पाषाण राष्ट्रवादको गाथामा
कहाँ लेखिन्छ र मनसरा मगर्नीको अलिखित इतिहास
इतिहासको पानामा दफनाइएको भिक्टोरिया क्रस
साम्राज्यवादको प्रतीक थियो
जसले मर्न र मार्न उक्साउँथ्यो
मनसरा मगर्नीको पतिलाई !!

विधवा राष्ट्रवादको भिक्टोरिया क्रस बोकेर हिँडिरहेको
मनसरा मगर्नीको छाया
आज पनि देखिन्छ रे
बर्माको जङ्गल र बकिङ्घम दरबारतिर
चन्द्रशमशेरको दरबार र गोरखाको भिरतिर !!
आज पनि ऐँठन हुन्छ रे
गोर्खाली राष्ट्रवादलाई
मनसरा मगर्नीको पतिको भिक्टोरिया क्रस सम्झिँदा !!

ट्याग: वेदिका
साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.