साहित्यपोस्ट डट कम

कविता : मान्छेलाई मान्छे त बन्न देऊ

कविता : मान्छेलाई मान्छे त बन्न देऊ

एक मान्छे

मान्छेको एक्लो चोला

एक धर्म

तैत्तिस कोटी देवता

हजारौँ देवल र हजारौँ थान !

ए भक्तिमा सत्यता बिर्सेका

निश्चल आत्माहरू !

जुरुक्क उठ

एकपल्ट तिम्रो भक्तिमय पूजाबाट

निहाल आफ्नै पुस्ताको इतिहास

अनि निहाल आफ्नै वर्तमान

तिम्रो कुन पुस्ता खुसी थियो

मान्छेलाई भगवान् बनाई पूजा गरी ?

बाजेले प्रजातन्त्रको झण्डा समाते

राजा महेन्द्रको महिमामा देवल बनाए

रातदिन नभनी पूजा गरे

सत्र सालमा

आफैँ जेल परे, अनि भोकै मरे ।

बजैले बाध्य भई

पञ्चायत मानिन्

पञ्चलाई देवता ठानिन्

दुःख गरी-गरी पूजा गरिन्

पूजा गर्दा-गर्दै

भोकै मरिन् ।

बाले हर्षका साथ

बहुदल माने

पार्टीको झण्डा समाती

नारा लगाए

महिमामा मन्दिर बनाए

दुःख पर्दा गुहारे, कराए

अन्तिममा

न्याय खोज्दै कालापहाड छिरे ।

दाइले प्रचण्डपथ माने

रातो रङ्गको झण्डामा

जनयुद्ध लडे

प्रचण्डलाई देवता मानी पूजा गरे

प्रचण्डपथको भक्तिमा गोली खाए

अनि आजीवन

नउठ्ने गरी थला परे।

भिनाले संविधान भन्दै

हरियो रुखको ध्वजासहित

नाराबाजी गरे

संविधानको उपहार

खाडीको दुःख पाए।

दिदीले सेतो ध्वजामा

सूर्यको गीत गाइन्

“केपी बा” भन्दै पूजा गरिन्

जेन्जीको आन्दोलनमा छोरो अस्तायो

तब पश्चात्तापको आँसुमा

आफैँ बगिन्।

आज मेरो भाइ

रवि दाइ, बालेन दाइ

भन्दै पूजा गर्दै छ

कुन दिन कुन खोँचमा पर्छ

त्यब् आफैँ अस्ताउँछ।

ए पर्ख !

त पर्ख

मान्छेलाई भगवान् बनाई पूजा गर्न लागेका भक्तहरू !

एकपल्ट इतिहास निहाल

तिम्रो कुन पुस्ता खुसी थियो

मान्छेलाई भगवान् बनाई पूजा गरी ?

मान्छेलाई

मान्छे त बन्न देऊ !

पर्ख न पर्ख

दुई-चार वर्ष

दुई-चार वर्षपछि

मन्दिर बनाउँला

राम्रा कर्मको पूजा गरौँला।

नत्र निहाल एकछिन

निहाल आफ्नै पुस्ताको इतिहास

अनि निहाल आफ्नै वर्तमान

तिम्रो कुन पुस्ता खुसी थियो

मान्छेलाई भगवान् बनाई पूजा गरी ?

आशाले नैराश्यता ल्याउँछ

त्यसैले

सुन्दर भविष्यको आशामा

मान्छे पुज्नेहरू !

आऊ,

एकपल्ट इतिहास निहालौँ

दुःख बाँडौँ

मान्छेलाई

मान्छे बन्न दिऔँ।

तिमीलाई पनि थाहा छ

मान्छेलाई भगवान् ठान्नेले

सुख कहिल्यै पाउँदैन।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.