मेरो कोठामा एउटा ढुङ्गा छ
ढुङ्गा होइन जस्तो
कुनै मौन चेतनाको घना प्रतीक जस्तो ।
त्यो न त बोल्छ, न प्रतिक्रिया दिन्छ
तर मसँग संवाद गर्छ बारम्बार
शब्दभन्दा बाहिर
अर्थभन्दा गहिरो तहमा निरन्तर ।
कहिलेकाहीँ म त्यसलाई देवता बनाउँछु
कहिलेकाहीँ त्यसैलाई गाली गर्छु
तर त्यो त्यस्तै रहन्छ
निर्विकार, निर्व्याख्या, निर्विकल्प स्वरूपमा ।
सायद यही हो उसको दर्शन
अस्तित्व भएर पनि दाबी नगर्ने
बुझेर पनि बोल्न नपर्ने ।
मान्छेहरू भन्छन् “ढुङ्गाले सुन्दैन”
तर म बुझ्ने कोसिस गर्छु
त्यसले शब्द होइन
मनको तरङ्ग सुन्दो रहेछ ।
अन्तःकरणको हलचल
मैले नबोलेका शब्दहरू
मेरो मौन प्रार्थना
सबै त्यसले ढुङ्गामै रूपान्तरण गर्छ
र मलाई फर्काइदिन्छ
आत्मशान्तिको भाषा बनाएर ।
यो ढुङ्गा केवल पदार्थ होइन
यो समयले जमेको मौनता हो
अस्तित्वको स्थिरता हो
र चेतनाको निष्कम्प रूप हो ।
जब म उसलाई हेर्छु
म आफैँलाई हराएको ठाउँ भेट्छु
जहाँ म बोल्दिनँ
जहाँ म केवल ‘हुन्छु’ ।
त्यहीँ, म बुझ्ने अभिलाषा गर्छु
मान्छे हुनु भनेको धेरै बोल्नु मात्र होइन रहेछ
कहिलेकाहीँ ढुङ्गाजस्तै मौन हुनु पनि रहेछ ।
ढुङ्गाले मलाई भगवान् बनाउँदैन
न त म उसलाई भगवान् बनाउँछु
तर ऊ मलाई
स्वयंलाई देख्ने ‘दर्पण’ बनाइदिन्छ ।
त्यस दर्पणमा न चेहरा हुन्छ, न नाम
केवल अस्तित्वको शुद्ध उपस्थिति हुन्छ ।
आज म निष्कर्षमा होइन
एक अनुभूतिमा पुगेको छु
मान्छेहरूले खोजेको सत्य
ढुङ्गाको मौनतामा बसेको रहेछ ।
त्यसैले कहिलेकाहीँ
मलाई मान्छेभन्दा
ढुङ्गा नै बढी सत्य लाग्छ
किनकि ऊ केही बन्न खोज्दैन
ऊ केवल ‘हुन्छ’
त्यसैले त मलाई
मान्छेभन्दा ढुङ्गा प्यारो लाग्छ ।

