साहित्यपोस्ट डट कम

कविता : मान्छेभन्दा प्यारो ढुङ्गा

कविता : मान्छेभन्दा प्यारो ढुङ्गा

मेरो कोठामा एउटा ढुङ्गा छ

ढुङ्गा होइन जस्तो

कुनै मौन चेतनाको घना प्रतीक जस्तो ।

त्यो न त बोल्छ, न प्रतिक्रिया दिन्छ

तर मसँग संवाद गर्छ बारम्बार

शब्दभन्दा बाहिर

अर्थभन्दा गहिरो तहमा निरन्तर ।

कहिलेकाहीँ म त्यसलाई देवता बनाउँछु

कहिलेकाहीँ त्यसैलाई गाली गर्छु

तर त्यो त्यस्तै रहन्छ

निर्विकार, निर्व्याख्या, निर्विकल्प स्वरूपमा ।

सायद यही हो उसको दर्शन

अस्तित्व भएर पनि दाबी नगर्ने

बुझेर पनि बोल्न नपर्ने ।

मान्छेहरू भन्छन् “ढुङ्गाले सुन्दैन”

तर म बुझ्ने कोसिस गर्छु

त्यसले शब्द होइन

मनको तरङ्ग सुन्दो रहेछ ।

अन्तःकरणको हलचल

मैले नबोलेका शब्दहरू

मेरो मौन प्रार्थना

सबै त्यसले ढुङ्गामै रूपान्तरण गर्छ

र मलाई फर्काइदिन्छ

आत्मशान्तिको भाषा बनाएर ।

यो ढुङ्गा केवल पदार्थ होइन

यो समयले जमेको मौनता हो

अस्तित्वको स्थिरता हो

र चेतनाको निष्कम्प रूप हो ।

जब म उसलाई हेर्छु

म आफैँलाई हराएको ठाउँ भेट्छु

जहाँ म बोल्दिनँ

जहाँ म केवल ‘हुन्छु’ ।

त्यहीँ, म बुझ्ने अभिलाषा गर्छु

मान्छे हुनु भनेको धेरै बोल्नु मात्र होइन रहेछ

कहिलेकाहीँ ढुङ्गाजस्तै मौन हुनु पनि रहेछ ।

ढुङ्गाले मलाई भगवान् बनाउँदैन

न त म उसलाई भगवान् बनाउँछु

तर ऊ मलाई

स्वयंलाई देख्ने ‘दर्पण’ बनाइदिन्छ ।

त्यस दर्पणमा न चेहरा हुन्छ, न नाम

केवल अस्तित्वको शुद्ध उपस्थिति हुन्छ ।

आज म निष्कर्षमा होइन

एक अनुभूतिमा पुगेको छु

मान्छेहरूले खोजेको सत्य

ढुङ्गाको मौनतामा बसेको रहेछ ।

त्यसैले कहिलेकाहीँ

मलाई मान्छेभन्दा

ढुङ्गा नै बढी सत्य लाग्छ

किनकि ऊ केही बन्न खोज्दैन

ऊ केवल ‘हुन्छ’

त्यसैले त मलाई

मान्छेभन्दा ढुङ्गा प्यारो लाग्छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.