साहित्यपोस्ट डट कम

कविता : मान्छेलाई जलवायुको पत्र

कविता : मान्छेलाई जलवायुको पत्र

१.

सूर्यको आभालाई खिचेर

अन्नमा ब्रह्म निर्माण गर्ने

वायु पान र सोधन गर्दै

तिमीलाई प्राण दान गर्ने

धराको बललाई बदलेर

तिमीलाई वीर्यवान् बनाउने

माटो, बुटो, वायु र तेज…

तिमीलाई पिलाउने को होला ?

२.

कयौँ पटक…

प्रजन्यका लागि

चोखो पानीको खाँचो देखाउँदै,

गरुँगो पानी पिएर…

हलुका पानी दिने यज्ञ लाएकै हो ।

तिम्रो आरोग्यताका लागि

बुटी र ओखती बनेर

धुरी, धारा र गिरीहरूमा

दिव्य विस्कुन फिँजाएकै हो ।

३.

तिम्रो ऋतुचक्रलाई जोगाउन

मेरै वसन्त सुम्पिएकै हो ।

तिम्रा तृष्णा र प्रेमल कुण्ठाको सम्बोधन गर्न

मेरै अंशहरूले बलिदान गरेकै हो ।

वसुधाका अंश हामी…

आपसी कुटुम्ब पनि हौँ ।

कुटुम्ब जोगाउँदा म पनि जोगिन्छु कि भन्ने

त्यसैले युगान्तर आश लाएकै हो ।

४.

तिमी जोगिँदा मलाई मज्जा आउँछ

म जोगिँदा तिमीलाई ऊर्जा आउँछ ।

तिम्रो निरन्तरताका लागि म जोगिनुपर्छ ।

मेरो निरन्तरताका लागि…

तिमीले के कर्म गर्न सक्छौ ?

धेरै केही चाहिँदैन

मात्र…

भएको चाहिँ सपार्ने र बीज अंशलाई नबिगारे हुन्छ

जात र गुण मेटिने गरी वर्णसङ्कर नगरे हुन्छ ।।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.