चतुर्याइँले कौवा
भौतारिँदै उडेर टाढाको गन्तव्यमा पुगेपछि
थाकेर लखतरान हुँदै बस्दा
उसको चतुर्याइँको सपना पनि
गोधूलि साँझको प्रकाशझैँ हराउँछ ।
चील चमत्कारिक आकाशमा
माथि–माथिसम्म उडान भरेर पनि
चट्टानी शैलमा निर्मम शैलीले प्रशस्त पीडा सहन्छ
आफैँलाई नवीकरण गरेर जिउन
किनकि सकिँदैन थोत्रा भुत्लाहरू सिएर
बेगसित अविराम यात्रा गर्न ।
तित्रा, सुगा, ढुकुर र परेवा
बाँच्न विवश छन् आ–आफ्नै कथाव्यथामा
जे होस्, स्वतन्त्रता छ चरालाई उडेर जिन्दगी जिउन
यो आकाश र धर्तीमा
परिवेश भएका, तर देश नभएका
चरा, कठैबरा !
यस्तै, चतुर्याइँले चल्ने मान्छे पनि
पर–परसम्म भौतारिए पनि
घर–घरसम्म, सहर–सहरसम्म चहारिए पनि
थाकेर कि भुइँमा, कि बन्द कोठामै सपना देख्न नछाड्ने भएर
अस्पतालको शैयामा बाँच्न विवश छन् ।
शक्तिले मैमत्त मान्छे पनि शक्ति सकिएको दिन
सुकिला–मुकिला भएर पनि धुस्रो–फुस्रो नै देखिन्छन् ।
ती सज्जनहरू पनि विवश छन्
उद्यमको उद्योग नचल्दा
निम्न आयको आँगनमा गरिब भएर बाँच्न ।
के गर्नु, उड्ने मान्छे पनि छन्
साना–साना देशमा पनि, ठुला–ठुला परिवेशमा पनि ।
त्यसैले रूप–रङ्गमा विविधता भए पनि
जिउने ढङ्गमा उस्तै–उस्तै छन्
मान्छे र चरा
बिचरा !

