हिमालको शिखरमा पुग्न निकै गाह्रो हुन्छ
पौडिएर समुद्रलाई तर्न निकै साह्रो हुन्छ
कोही दिलमा बस्ने हुन्छन्
कोही खुसी खोस्ने हुन्छन्
सबैभन्दा ठुलो कुरा मान्छे चिन्न गाह्रो हुन्छ ।
साथ छोड्ने आफ्नै हुन्छन् आधा बाटो हिँडेपछि
नाता तोड्ने आफ्नै हुन्छन् आधा जीवन बितेपछि
नमरुञ्जेल साथ दिन्छु भन्ने पनि छुटि गए
अलपत्र पार्दै जीवन लुट्नुसम्म लुटि गए ।
सबैभन्दा ठुलो कुरा मान्छे चिन्न गाह्रो हुन्छ ।
प्राणभन्दा प्यारो कोही, साथ छोड्न गाह्रो हुन्छ
भाग्य खोटी रैछ भने प्रेमी पनि टाढो हुन्छ
कोही मान्छे अनायासै दिलभित्र बस्ने हुन्छ
कसैको त मन जित्नु ढुङ्गाभन्दा साह्रो हुन्छ ।
सबैभन्दा ठुलो कुरा मान्छे चिन्न गाह्रो हुन्छ ।
बाहिर भित्र भिन्दाभिन्दै रूप बोकी हिँड्छ मान्छे
हुँदा छँदा आफ्नो बन्छ, अभरमा तर्किदिन्छ मान्छे
को हो आफ्नो पराइ को हो ठम्याउन गाह्रो हुन्छ
नसोचेको हितैषीले निस्वार्थी भई साथ दिन्छ ।
सबैभन्दा ठुलो कुरा मान्छे चिन्न गाह्रो हुन्छ ।