मलाई डर छ
कतै मन–मनको चक्करमा
हामी हराउने त होइनौँ ?
डरकै गहिराइमा बहकिने त होइनौँ ?
तिमी सपनाको उचाइमा पुग्दा
मेरो सपना मैदानमै अड्किने त होइन ?
तिम्रो मान्छे— रोकिन जान्दैन
छेकिन सक्दैन, देखिन खोज्छ
देखाउन खोज्छ ।
केही सुन्दैन, तर भन्न चाहन्छ
केही नबोली मिठा कुरा सुन्न चाहन्छ ।
सायद, मलाई डर छ ।
सपनाकै सपना बोकेर पखेटा नभएको
जहाजमा उड्नु पक्कै सजिलो हुँदैन ।
यहाँ छन्
नभनिएका पीडा, लुकेका अतृप्तता
लुकाइएका परिदृश्य, नसुनाइएका बोझ
नबाँडिएका खुसी ।
तिम्रो मान्छे
बोझको बोझिलो हुँदैन
सम्भावनाको सम्भाव्य हुँदैन
आफ्नोपनको आफ्नै हुँदैन
अँध्यारो उज्यालो बन्दैन
बिहान उदाउँदैन, मध्य पूर्ण हुँदैन
अस्ताउने बिदाइ पनि हुँदैन ।
फेरि, मलाई डर छ ।
कतै भनिएका कुरा पूरा नभए
समाएका हात टुटे, देखाइएका सपना हराए
हराएका याद फेरि ब्युँझिए
त्यस्तै होला
उम्दा स्वरमा नारायण गोपाल खोजे जस्तो।
मलाई डर छ
कतै मन–मनको चक्करमा
तिमी पनि हरायौ भने…

