साहित्यपोस्ट डट कम

कविता : मलाई आफ्नै अविच्युरी लेख्न मन छ

कविता : मलाई आफ्नै अविच्युरी लेख्न मन छ

 मलाई आफ्नै अविच्युरी
लेख्न मन छ
यो हतारको सहरमा थोरै
सुस्ताएर
आफैँले आफ्नै जीवनको
कथा
भित्तामा झुन्डिएको
तस्बिर बन्नुअघि कोर्न मन छ
लेख्न मन छ
प्रेमका रहरमा झुलेका
स्मृतिहरू
खुसीका लहरमा फुलेका
सपनाहरू
केही मन बिझेका
व्यथाहरू
थोरै आँसुले भिजेका
कथाहरू ।

आफ्नै पाइलाहरूले
नापेका
ती उकाली-ओरालीहरू
र तिनै माटोको सुवास
बोकेका
ती गाउँका गोरेटोहरू
जसले मलाई सधैँ आफ्नो
जग सम्झाइरहे ।

मलाई आफ्नै अविच्युरी
लेख्न मन छ
कुनै ठूलो शोकसभाको
भाषणजस्तो होइन
थोरै इमानदार र धेरै
शान्त शब्दहरूमा
जहाँ नहोस् कुनै
बढाइचढाइको प्रशंसा
केवल, एउटा मान्छे हुनुको इमानदार समीक्षा होस् ।

जसमा लेखिनेछ
मैले पनि सहरका ठूला
महलहरू र
दूरदराजका बस्तीका
अभावहरू बीचको खाडल देखेँ
र कताकता त्यो खाडल
पुर्ने सानो सपना पनि बुनेँ ।

मलाई यो बन्द पिँजडाजस्तो
समयबाट मुक्त हुनु थियो
सारा जञ्जाल र
अपेक्षाका बोझ बिसाएर
खुला आकाशमा एउटा
स्वतन्त्र चराजस्तै हराउनु थियो ।
न मैले बाँचेको जीवन
कुनै बन्धन थियो
न मेरो अन्त्य पनि
कुनै नमीठो हारको नतिजा थियो
यो त अनन्त
स्वतन्त्रताको तर्फ एउटा सुन्दर प्रस्थान थियो
यस्तै यस्तै
स्वतन्त्रताका गाथाहरू समेटेर
मलाई मेरै अविच्युरी
लेख्न मन छ ।

केही सपनाहरू पूरा भए
होलान्
केही अधुरै छुटे
होलान्
निरन्तर यात्रा जारी
राख्नु नै मेरो परिचय थियो ।

जब
भोलि मेरो नामको अगाडि 'स्वर्गीय' झुन्डिनेछ
त्यसअघि नै
म आफूले आफैँलाई शब्दमा
जीवित राख्न चाहन्छु ।

कसैको आँखामा आँसु
थप्न होइन
केवल
मैले यो धर्तीमा
फेरेका सासहरूको
एउटा बिसौनी छाडेर जान
मन छ ।

जीवनको अन्तिम पाना
पल्टिनुअगाडि नै
सबैका प्रति कृतज्ञ
हुँदै
अनि
आफूले आफैँलाई धन्यवाद
भन्दै
यो सुन्दर संसारलाई
बिदाइको एउटा गीत छोड्न मन छ
मलाई आफ्नै अविच्युरी
लेख्न मन छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.