साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : म र मेरो सामर्थ्य

कविता : म र मेरो सामर्थ्य

म हूँ त्यही सेवक गण्डकीको
हूँ पुत्र मै शङ्करपार्वतीको ।
अहँ, म सामान्य मनुष्य हैन
सामान्य केही नि मभित्र छैन ।।

म देख्छु यो जीवन मृत्तिकामा
सङ्घर्ष पढ्दैछु पिपीलिकामा ।
देखेर यो हर्ष मभित्र आज
मुसुक्क हाँस्छन् अझ शैलराज ।।

पानीमहाँ अग्नि म बाल्न सक्छु
चाहे म चट्टान पगाल्न सक्छु ।
छ शक्ति मैभित्र पहाड फोर्ने
यो देशको सुन्दर चित्र कोर्ने ।।

यो देह पाएछु सुकर्म गर्न
स्वधर्म रक्षार्थ म सक्छु मर्न ।
स्वयम् म नै हूँ पथको विधाता
यो देशसँगै छ पवित्र नाता ।।

म सूर्यलाई पनि छेक्न सक्छु
समुद्रपारि पनि देख्न सक्छु ।
मभित्र भेटिन्छ प्रचण्ड ज्वाला
मै छात्र अध्यापक पाठशाला ।।

नडग्मगाई अघि बढ्न सक्छु
विरुद्ध अन्याय म लड्न सक्छु ।
रिसाउँदा पार्दछु लाल आँखा
रिसाउँदा बुझ्दिनँ प्रेम-भाका ।।

नसोच्नु फुच्चे र भुरो मलाई
विध्वंस पार्ने म त्यही सलाई ।
यो सूक्ष्मताभित्र विशालता छ
मनुष्यहूँ भित्र त देवता छ ।।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.