ए ! तिमीलाई औधि प्रेम गर्छु भन्ने मान्छे
फेसबुकका भित्ताहरूमा
प्रणय दिवस लेखेर
रुमलियौ कि कतै !
गुलाफमय बजार देखेर
बजार-बजार चहार्यौ कि कतै !
लेख्छन् लेख्नेहरू दिन तोकेर प्रणय दिवस
देख्छन् देख्नेहरू फूल तोकेर गुलाफलाई प्रेम-प्रतीक !
ए ! तिमीलाई औधि प्रेम गर्छु भन्ने मान्छे
म तिमीलाई सुझाउँछु आज
म तिमीलाई बुझाउँछु आज !
तिमी नखोज्नु मलाई
कुनै प्रणय दिवसहरूमा
कुनै गुलाफमय फूलबारीहरूमा !
म त वर्षौँ भयो यसरी अखट्टी भएको
तिम्रो कथित भाष्यभन्दा बेग्लै भएको !
जुन दिन थाहा पाएँ
सत्यताको नाममा सती पठाइएको
जुन दिन देखेँ
प्रेमको नाममा एसिड हालिएको
जुन दिन महसुस गरेँ
प्रेमको नाममा आत्मसम्मान लुटिएको
त्यसै दिन जलाइदिएकी हुँ
तिमीले दिएका खोक्रा उपमाहरू (सुन्दरता, कोमलता, माधुर्यता) !
र स्वीकारेकी हुँ यथार्थता !
ए ! तिमीलाई औधि प्रेम गर्छु भन्ने मान्छे
तिमी नखोज्नु मलाई अब
फूलैफूल बिछ्याइएको काँडारहित बाटोहरूमा
तिम्रो सुन्दरतामय संसारहरूमा !
तिमी नखोज्नु मलाई अब
तिम्रो कोमलता र माधुर्यतामय भाष्यहरूमा
तिम्रो कपोलकल्पित स्वार्थी प्रेम-संसारमा !
बरु खोज्नु तिमी मलाई
बन्दुक र बारुदहरूमा
क्रान्तिका अग्रगामी मोर्चाहरूमा !
बरु खोज्नु तिमी मलाई
चट्टान र अग्निज्वालाहरूमा
स्वतन्त्र आकाश र बादलहरूमा !
किनभने म प्रेममा स्वतन्त्रता चाहन्छु !
कुनै पनि मूल्यमा म प्रेममा
आत्मसम्मान, समानता र समता चाहन्छु !
किनभने म प्रेममा
चेतना चाहन्छु !!!

