निधारमा खोपिएका चाउरीहरू
बुढ्यौलीका धर्सा होइनन्
यी त समयको कलमले
घाम, पानी, रगत र पसिनाको
अमिट मसीले लेखिएका
जीवित इतिहास हुन्।
अनुहारभरि फैलिएका रेखाहरू
सामान्य रेखा होइनन्,
यी त ती वर्षहरूका गणित हुन्
जहाँ घामले छायाको अधिकार पाएन
जहाँ पसिनाले
ओभाउने अवसर पाएन ।
म नथुवा चौधरी
कुनै कागजको परिचय–पत्र होइन ।
म मेरो माटोको सुगन्ध हुँ,
तराईको छातीमा
घामले जलाएको अक्षर हुँ ।
म यही घामसँग हुर्किएँ
यही हावासँग सास फेरेँ
मेरो नाल गाडिएको
यही माटोमा
आजसम्मको पहरेदार बनेँ ।
बाढी आउँदा म भागिनँ
घर बग्दा म रुने मात्र मान्छे बनिनँ ।
म ढुङ्गा बनेँ
म तटबन्ध बनेँ
म आफ्नै छातीले अड्याएर
आफ्नो माटो जोगाएँ ।
तर कहिल्यै मोडिनँ
संस्कृति र पहिचानको बाटो
किनकि बाटो मोड्नु भनेको
आफ्नै आत्माबाट
पलायन हुनु हो।
मेरो आत्मसम्मान
कुनै भाषणमा अडिएको छैन
मेरो स्वाभिमान
कुनै मञ्चमा सजिएको छैन ।
यो त पुर्खाको पसिनाले
भिजेको
मेरो विरासतको भारीमा
अडिएको हो ।
म धर्तीपुत्र !
मेरो स्वाभिमानलाई आज
नैराश्यको करौतीले
धरापमा पारेको छ ।
गति सुस्ताएको छ
आवाज हराएको छ।
यही बुढो शरीरझैँ
लमतन्न थन्किएका छन्
आफ्नै अस्तित्वका
पाङ्ग्राहरू ।
सन्ध्याको अस्ताउँदो प्रकाशझैँ
मेरो संस्कृति अब
घरको आँगन र भित्तामा मात्र
सास फेरिरहेकी छ।
पिठ्युँमा अडिएका धनुषहरू
अब सजावट बनेका छन्
लडाइँका कथा
तस्बिरमा मात्र बाँचेका छन् ।
धनुष समात्न बिर्सिसकेका
कम्पित हातहरूले
कसरी थाम्न सक्छन्
मेरो विरासत ?
भित्तामा टाँसिएका चिनारीहरू
समयको ओसले
मिहिन–मिहिन हुँदै
बिलाउँदै गइरहेका छन् ।
नाम नै मेटिँदा
अनुहार नै हराउँदा
कसरी बाँच्छ
मेरो पहिचान ?
उमेरले ठगिइसक्दा पनि
काँधमा बोकेको
अक्षर–अक्षर इतिहास
बिसाउने ठाउँ खोज्दै
समयको कोलाहलभित्र
एक्लै उभिएको छु ।
म नथुवा चौधरी
म आज प्रश्न बनेको छु
के विरासत बाँच्न
युवापन चाहिन्छ ?
कि सम्झन सक्ने
संवेदनशील चेतना ?
यदि म ढलेँ भने
मसँगै एउटा संस्कृति ढल्नेछ
एउटा पहिचान
माटोभित्र
फेरि गाडिनेछ ।
म बोल्न सक्दिनँ जोरले
तर मेरो मौनता
चिच्याइरहेको छ

