साहित्यपोस्ट डट कम

कविता : म एउटा कविता लेख्न खोजिरहेछु

कविता : म एउटा कविता लेख्न खोजिरहेछु

पढ्दा सुन्दर लाग्ने

उस्तै सुन्दर चेत बोकेको

म एउटा कविता लेख्न खोजिरहेछु।

यहाँ रुनेहरूले हाँस्न बिर्सिएका छन्

हाँस्नेहरूले बाँच्न बिर्सिएका छन्।

यहाँ पीडामाथि पीडाहरू बुर्कुसी मारिरहेछन्

यहाँ आँसुसँगै अभाव र दरिद्रता टिल्पिलाइरहेछ।

त्यसैले— जीवनको एक क्षण बिसाउनीमा

पढ्दा सुन्दर लाग्ने

उस्तै सुन्दर चेत बोकेको

म एउटा कविता लेख्न खोजिरहेछु।

यहाँ बाँच्दा-बाँच्दै हाँस्न बिर्सेकाहरू

गरिरहेछन् निरन्तर गन्तव्यविहीन सफरहरू।

भागिरहेछन्— मुक्त हुन नसकिने दुःखहरूबाट

रोइरहेछन्— बिल्कुलै निख्रिएका आँसुहरू।

तुवाँलोझैँ धुमिल जिन्दगीलाई शब्द बनाएर

आँसुको मसीले

आँखाका कतै खाली पानामा

जीवनको एक क्षण बिसाउनीमा

पढ्दा सुन्दर लाग्ने

उस्तै सुन्दर चेत बोकेको

म एउटा कविता लेख्न खोजिरहेछु।

मलाई यस्तो कविता चाहिएको छ

जसले अक्षरहरूको गर्भबाट निस्किएर

शब्द र विम्बहरूको बाटो हुँदै,

ब्रह्माण्डको सयर गर्न सकोस् ।

जहाँ पुगेपछि देख्न सकियोस्

धुमिल जीवनको क्यानभासमा

यथार्थका रङहरूले पोतिएको पोट्रेट संसार !

जहाँ पुगेपछि भेट्न सकियोस्

अनुभूतिहरूको मिठो कलेक्सन जिन्दगी ।

त्यसैले— जीवनको एक क्षण बिसाउनीमा

पढ्दा सुन्दर लाग्ने

उस्तै सुन्दर चेत बोकेको

म एउटा कविता लेख्न खोजिरहेछु।

यहाँ सेकेन्ड, मिनेट र समय यान्त्रिक भइरहेछ

जीवनका असङ्ख्य सम्भाव्यताहरू ढुल्मुलिरहेछन्।

दर्शन, सिद्धान्त र विचारहरूको मृत्यु भएको छ

पटक-पटक प्रेम र जीवन निरीह बनिरहेछ।

त्यसैले मलाई यस्तो कविता लेख्नु छ

जहाँ देखियोस् प्रत्येक अक्षर र शब्दहरूमा

आदर्श र चेतनाका विद्रोही स्वरहरू !

भेट्न सकियोस्— प्रगतिशील पथ र सोपानहरू।

त्यसैले— जीवनको एक क्षण बिसाउनीमा

पढ्दा सुन्दर लाग्ने

उस्तै सुन्दर चेत बोकेको

म एउटा कविता लेख्न खोजिरहेछु।

यदि नियतिले हुत्याएछ भने पनि

जीवनका पाइलाहरू रोकिएछन् भने पनि

आकाश खसेर धर्ती दुई चिरा भए पनि

समाप्त हुनु अगावै हाम्रो अस्तित्व

जीवनको एक क्षण बिसाउनीमा

पढ्दा सुन्दर लाग्ने

उस्तै सुन्दर चेत बोकेको

म एउटा कविता लेख्न खोजिरहेछु।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.