साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

कविता : मभित्र खेलिरहने तिमी

कविता : मभित्र खेलिरहने तिमी

सम्झनाका साँझ-बिहानहरू

खोजेको जस्तै हुनुको अन्तर्यमा

स्मरणका दिन-रातहरू

रोजेको जस्तै अनुभूत हुनुको आभासमा

हरेक रात, निदाउनु अघि

म तिमीलाई सम्झन्छु ।

सपनाहरूमा अघाउन्जेल लुकामारी खेलेपछि

प्रभाती किरणहरूले अनुहार स्पर्श गर्दै गर्दा

चराहरूको चिरबिरपछिको प्रथम दृष्टि

झ्यालबाहिरको हरियालीमा पर्दै गर्दा

सदाबहार सौन्दर्यका रङहरू

क्रमशः आँखाहरूमा सर्दै गर्दा

म तिमीलाई सम्झन्छु ।

झरीमा रुझेर परेलाहरू झुकेको बेला

इन्द्रेणी बादलभित्र कतै लुकेको बेला

लुक्दै-हाँस्दै, हाँस्दै-खेल्दै गर्ने जोडीको स्मृतिमा

कल्पनाको उडान गर्दा

म तिमीसँगै हुन्छु ।

जमिनमा ओर्लँदा

म तिमीलाई नै सम्झन्छु ।

बगैँचामा फुल्दै गरेको फूल मुस्काउन खोज्दा

पर्यावरणमा घुलित तिम्रा पनहरूले

जिस्क्याउन खोज्दा

खैरा, काला, सेता रङहरूमा पुलकित हुँदै

म तिमीसँगै डुल्छु ।

तन्द्रा टुटेको बेला

बगैँचा छुटेको बेला

म तिमीलाई नै सम्झन्छु ।

ढोकाबाहिरको हिउँ नदेखेको गमलाको बिरुवाले

हलक्क बढेको सङ्केतमा पात हल्लाएको बेला

प्रकाशको दिशातिर हेर्दै

लजाएर उसको साथ खोजेको बेला

साथ-साथै रम्ने साथीको रूपमा

रमाउँदै-रमाउँदै

म तिम्रो सामीप्यमा हुन्छु ।

हावाको प्रवाह बदलिएको बेला

दिनकर बादलहरूले घेरिएको बेला

म तिमीलाई सम्झन्छु।

सपनामा आउने तिमी

बिपनामा छाउने पनि तिमी

मैले आफ्नै छायाँ मानेको तिमी

सम्पूर्णमा आफैँ ठानेको तिमी ।

तिमीले सम्झँदा

म पनि तिमीलाई सम्झन्छु ।

तिमीले बिर्सिए पनि

म तिमीलाई नै सम्झन्छु ।

साँच्चै

तिमी कहिलेदेखि

आफूले आफैँलाई सम्झन्छौ ?

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.