सम्झनाका साँझ-बिहानहरू
खोजेको जस्तै हुनुको अन्तर्यमा
स्मरणका दिन-रातहरू
रोजेको जस्तै अनुभूत हुनुको आभासमा
हरेक रात, निदाउनु अघि
म तिमीलाई सम्झन्छु ।
सपनाहरूमा अघाउन्जेल लुकामारी खेलेपछि
प्रभाती किरणहरूले अनुहार स्पर्श गर्दै गर्दा
चराहरूको चिरबिरपछिको प्रथम दृष्टि
झ्यालबाहिरको हरियालीमा पर्दै गर्दा
सदाबहार सौन्दर्यका रङहरू
क्रमशः आँखाहरूमा सर्दै गर्दा
म तिमीलाई सम्झन्छु ।
झरीमा रुझेर परेलाहरू झुकेको बेला
इन्द्रेणी बादलभित्र कतै लुकेको बेला
लुक्दै-हाँस्दै, हाँस्दै-खेल्दै गर्ने जोडीको स्मृतिमा
कल्पनाको उडान गर्दा
म तिमीसँगै हुन्छु ।
जमिनमा ओर्लँदा
म तिमीलाई नै सम्झन्छु ।
बगैँचामा फुल्दै गरेको फूल मुस्काउन खोज्दा
पर्यावरणमा घुलित तिम्रा पनहरूले
जिस्क्याउन खोज्दा
खैरा, काला, सेता रङहरूमा पुलकित हुँदै
म तिमीसँगै डुल्छु ।
तन्द्रा टुटेको बेला
बगैँचा छुटेको बेला
म तिमीलाई नै सम्झन्छु ।
ढोकाबाहिरको हिउँ नदेखेको गमलाको बिरुवाले
हलक्क बढेको सङ्केतमा पात हल्लाएको बेला
प्रकाशको दिशातिर हेर्दै
लजाएर उसको साथ खोजेको बेला
साथ-साथै रम्ने साथीको रूपमा
रमाउँदै-रमाउँदै
म तिम्रो सामीप्यमा हुन्छु ।
हावाको प्रवाह बदलिएको बेला
दिनकर बादलहरूले घेरिएको बेला
म तिमीलाई सम्झन्छु।
सपनामा आउने तिमी
बिपनामा छाउने पनि तिमी
मैले आफ्नै छायाँ मानेको तिमी
सम्पूर्णमा आफैँ ठानेको तिमी ।
तिमीले सम्झँदा
म पनि तिमीलाई सम्झन्छु ।
तिमीले बिर्सिए पनि
म तिमीलाई नै सम्झन्छु ।
साँच्चै
तिमी कहिलेदेखि
आफूले आफैँलाई सम्झन्छौ ?

