व्यस्त सडकको छेउ कुनामा
वर्षौंदेखि ठिङ्ग उभिएको
म एक ल्याम्पपोष्ट हुँ ।
मेरो फेदमा
रङ्गीचङ्गी बोरा छन्
सेता-काला प्लास्टिकका पोका पनि
एक-अर्कासँग गफिँदै छन् ।
आवाज चर्को आइरहेको छ
दुर्गन्ध पनि तीव्र आइरहेको छ ।
सायद
यी बोराबीच
आसन्न चुनावको चर्चा चलिरहेको छ
एक-आपसमा समर्थन
र आरोप-प्रत्यारोप पनि चलिरहेको छ ।
मानसिक अवस्था बिग्रेको
अनाथ महिलाको कपाल देख्दा
मैले आफ्नै शरीर सम्झिन्छु
लथालिङ्ग, गुजुमुजु परेको तार वर्षौंदेखि उस्तै छ ।
न जिन्दावादले देख्यो
न त मुर्दावादले नै देख्यो !
देख्दैनन्
लेनिनवाद-मार्क्सवादले,
न माओवाद-लोकतान्त्रिक समाजवादले
न त उदय भएको नयाँ शक्तिले नै !
बस्
देखिरहेँ म एक ल्याम्पपोष्टले
सुन्दर सहरमा
निर्जीव उभिएको ल्याम्पपोष्टको
कुरुप दृश्य !

