साहित्यपोस्ट डट कम

कविता : लडाइँ अस्तित्वको

कविता : लडाइँ अस्तित्वको

म मूर्खलाई किन यस्तो लाग्छ

यहाँ योद्धाहरू लडिरहेका छन्

हातहतियार लडिरहेका छन्

शक्ति र सम्पत्ति लडिरहेका छन्

राजनीति र कूटनीति लडिरहेका छन् !

वास्तवमा

यहाँ योद्धाहरू लडिरहेका छैनन्

हातहतियार लडिरहेका छैनन्

शक्ति र सम्पत्ति लडिरहेका छैनन्

राजनीति र कूटनीति लडिरहेका छैनन् !

यहाँ त

धर्म लडिरहेका छन्

दर्शन लडिरहेका छन्

विचार लडिरहेका छन्

भाषा, कला, संस्कृति, साहित्य र सौन्दर्य लडिरहेका छन्

मूल्य, मान्यता र सभ्यता लडिरहेका छन्

सुल्टो धार र उल्टो धार लडिरहेका छन्

माटो, वन, पानी, खनिज र आकाश लडिरहेका छन्

मान्छेका आ-आफ्ना जीवनशैली लडिरहेका छन्

तिनका कल्पना र सपना लडिरहेका छन्

तिनका आ-आफ्ना अस्तित्व लडिरहेका छन् !

यो लडाइँ

योद्धाहरूका बीचको होइन

हातहतियार बीचको होइन

शक्ति र सम्पत्तिबीचको होइन

राजनीति र कूटनीतिबीचको पनि होइन !

यो लडाइँ त

जीवन–मरणको लडाइँ हो

आफ्नो सभ्यताको सिक्रीमा एउटा कडी गाँस्ने

अर्काको सभ्यताको सिक्रीको एउटा कडी मास्ने

आफ्ना सपना फुलाउने–फलाउने

अर्काका सपना कुल्चने, जलाउने

आफ्नो मात्रै अस्तित्व जोगाउने

अर्काको अस्तित्व मास्ने लडाइँ हो ।

तर

म मूर्खलाई किन यस्तो लाग्छ

यहाँ योद्धाहरू लडिरहेका छन्

हातहतियार लडिरहेका छन्

शक्ति र सम्पत्ति लडिरहेका छन्

राजनीति र कूटनीति लडिरहेका छन् ?

कथामा

रामले मोहिनी अस्त्र चलाएर

खर–दूषणका सेनालाई भ्रमित पारी आपसमै लडाएर मारेझैँ

मान्छेहरूका मोहिनी अस्त्रमा

धर्महरूका प्रतिपादक/संस्थापक छन्

तिनका धर्मशास्त्र छन्, शब्द छन्

दर्शनहरूका दार्शनिक छन्, तिनका सिद्धान्त छन्

काव्यका कवि छन्

कथाका कथाकार छन्

कलाका कलाकार छन्

भाषा, भेषभूषा, संस्कृति र सौन्दर्य छन्

मूल्य, मान्यता र सभ्यता छन्

सुल्टो धार र उल्टो धार छन्

माटो, वन, पानी, खनिज र आकाश छन्

तिनका रगत र पसिना छन्

तिनका जीवनशैली छन्

तिनका अनेक कल्पना र सपना छन्

तिनका आफ्नै अस्तित्व छन् !

लड्ने हामी त केवल निमित्त हौँ !

मोहिनी अस्त्रको भ्रममा परेर

आफ्नैलाई मारिरहेछौँ दुश्मन ठानेर

मरिसकेका मान्छेका नाममा लडेर

मरिरहेछौँ बाँचेका हामी मान्छेहरू !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.