आगोले सकियो कि बारुद अझै पड्किन्छ राती पनि।
सम्झीए घरको छ हालत उहीँ , रोकिन्छ छाती अनि।
दुःखी को सपना भएन बिपना, आसा हरायो तर।
खुल्ला छैन बिमान फर्कुँ कसरी, बाँचेर आफ्नो घर।।
। १ ।
सातो जान्छ कतै म यो नरकमा, पर्दैछु एक्लो जन।
पैसा फल्छ तथापि यो मुलुकमा, देखिन्न आफ्नोपन।
कट्दैछन् दिनरात मेहनतमा, भ्याई नभ्याई तर।
खुल्ला छैन बिमान फर्कुँ कसरी, बाँचेर आफ्नो घर।।
।२।
कालो काल मडारिएर बलुवा, उड्दै छ आकासमा ।
मुस्लो निस्किरह्यो फुटेर बमको, ताके निशाना जहाँ।
सासै रोक्दछ व्यर्थ पाप अरुको, त्यो दृश्य हेर्दा तर।
खुल्ला छैन बिमान फर्कुँ कसरी, बाँचेर आफ्नो घर।।
।३।
देख्दैनौं कि छिमेक नागरिक जो, फर्की रहेका घर।
यस्तो बिघ्न अशान्त बिश्व घटना, के युद्ध रोकिन्छ र।
आँसु झार्न कतै दयालु नहुँदा, के काँध भेटिन्छ र।
खुल्ला छैन बिमान फर्कुँ कसरी, बाँचेर आफ्नो घर।।
। ४।