समय यहाँ फरक ढङ्गले चल्छ
अनौठो लयमा, मौन र गम्भीर ।
घामको पहिलो किरण सेतो हिमालमा ठोक्किनासाथ
समय बिउँझिन्छ, आँखा मिच्दै ।
छिट्टै परिपक्व बन्छ
फूल फुल्न नपाउँदै फल लाग्छ
अनि एक्कासि बुढो हुन्छ ।
कालो बादल र चिसो कुहिरोले ढाकिएको
समयको अनुहार मलिन देखिन्छ ।
चाउरिएका रेखाहरूमा सयौँ वर्षका कथा लेखिएका छन्
तर बोली भने मौन ।
जब सहरको समय भर्खर जन्मिँदै छ
निद्राबाट उठ्दै छ
यहाँ समय जवान भइसकेको हुन्छ ।
सहरको समय रातमा पनि बिजुलीको उज्यालोमा चम्किरहन्छ
यहाँ त कालो आकाशमा ताराहरू मात्र एक्लै चम्किन्छन् ।
हिमालको शान्तिमा समय चिप्लिन्छ
बरफको सतहमा पाइलाको छाप जस्तै ।
एकैछिनमा बालक, एकैछिनमा युवा
अनि अर्को क्षणमा वृद्ध ।
यहाँ समयले हतार गरेको जस्तो लाग्छ
कति छिटो बुढो हुन्छ यहाँको समय
यद्यपि कति सुन्दर छ यो छिट्टै आउने बुढेसकाल ।

