विचार बोकेर हिँड्नेहरू
उद्देश्य छोडेर भाग्दैनन्
विचार नबोकी लाग्नेहरू
सङ्कटको बेला जाग्दैनन् ।
तिमी भर नपर तिनको
जसको मनमा निष्ठा नहोस्
भरोसा त्यसको लिनु
जरो सानै भए पनि त्यो
पत्थर खोपेर उम्रिएको होस् ।
आस्था एउटा जीवन–पद्धति पनि हो
जीवन जिउने कला पनि हो
तिमी जाग विश्वासको सग्लो रुखझैँ
सुवासना देऊ निष्ठाको तिमी
फक्रेको सुन्दर गुलाफझैँ ।
सत्य बोली
भरोसायुक्त व्यवहार
सत्मार्गका साथी हुनेछन् तिम्रा
बाटो अप्ठ्यारो हुन सक्छ
ठाउँ–कुठाउँ ठेस लाग्न सक्छ
गल्छेडा, बार र पर्खालले
तिम्रो लक्ष्य छेक्ने कोसिस हुन सक्छ
तिमी सत्य वचन र कर्तव्य बोकी
भरोसायुक्त बाटो नछोडी हिँड
यात्रामा रात पर्न सक्छ
अनकण्टार मार्गमा हुँदा
दृष्टिमा अवरोध पुग्न सक्छ
तिमी चेतनाको दियालो बालेर
मान्यताको प्रकाश छर्दै हिँड ।
दृढता मानव चेतनाको आस्था बोक्ने
माध्यम पनि हो
तिमी आइपर्ने बन्देजहरू हटाउँदै अघि बढ
एक्लो छु भन्ने नठान तिमी
तिम्रा पदचापलाई पछ्याउने
र तिमीलाई साथ दिने
अनन्य मित्रहरू पाउँदै जानेछौ ।
गन्तव्य टाढा देखेर
नअल्मलिऊ तिमी
हेर !
आँट र अठोट
मार्गका वाहन हुनेछन् तिम्रा
सारथि मनको साथ रहेसम्म
हरेस नखाऊ तिमी ।
पूर्वको नव–किरणले जन्माउनेछ
जागृति नव–चेतनाको
तिमी त्यसकै सहारामा अघि बढ
अविचल बन्नुपर्छ तिम्रो यात्रा
लक्ष्य अभेद्य छ
हेर !
देशलाई आज तिम्रो खाँचो छ ।

