नेपाल
जहाँ शिलामा पनि मन्त्र बस्छ
जहाँ नदीले गङ्गाको स्मृति बोक्छ
जहाँ सगरमाथाले
सत्यतर्फ टाउको उठाइरहेछ
त्यहीँ
आज अधर्मले दरबार जमायो ।
देवभूमिमा
राक्षसी सत्ता हाँसिरहेछ
राजसिक लोभले
विवेकको घाँटी निमोठ्दै
कलिला आशा
देशका कोपिला
देशका पाठशालाका दीपहरू
कुरुक्षेत्रको धुलोमा
रगतसँग मिसाइयो ।
ती लडेका
कसैका छोराछोरी मात्रै होइनन्
ती भविष्य थिए
नयाँ संविधानका अक्षर
नयाँ सपनाका श्वास ।
र तिनका च्यातिएका बाबुआमा
हामी नै हौँ ।
सम्पूर्ण राष्ट्र
गान्धारी बनेको छ
आँखा खुला हुँदाहुँदै
अन्धो बनाइएको ।
हे ईश्वर !
महाभारतमा त
कृष्ण थिए
यहाँ केवल मौनता छ ।
त्यहाँ अधर्मविरुद्ध
शङ्खनाद भयो
यहाँ सत्य चिच्याउँदा पनि
मञ्चमा ताली बज्छ ।
दुर्योधनहरू
कुर्सीलाई गद्दी सम्झेर बसेका छन्
शकुनिहरू
सल्लाहको नाममा
धूत भवनहरू उमारेर
पासा फ्याँकिरहेछन्
द्रोणहरू
ज्ञान बेचेर
हत्याको पाठ पढाइरहेछन् ।
तर
इतिहास सधैँ एकतर्फी हुँदैन ।
बाङ्गलादेशको सडकमा
जागेको चेतनाको चर्को घण्टी
आसामका विद्यार्थीको
निर्भीक विद्रोह
यी केवल समाचार होइनन्
यी युगका सङ्केत हुन् ।
अब
अर्जुनहरू जन्मिँदै छन्
हातमा हतियार होइन
हातमा प्रश्न
आँखामा डर होइन
आँखामा भविष्य ।
जयद्रथलाई
सूर्यास्तमै रोक्नुपर्छ भन्ने
समयको ज्ञान उनीहरूलाई छ ।
यो युद्ध
तरबारले होइन
चेतनाले जितिन्छ ।
यो क्रान्ति
रगतले होइन
सत्यले लेखिन्छ ।
कुहेका ढोड
इतिहासको मङ्खाडीमा
आफैँ गाडिन्छन्
किनकि समय
सबैभन्दा ठूलो न्यायाधीश हो ।
हामी
नाच्दैनौँ
मरेको विवेकवरिपरि
हामी
देशको रस चुस्ने
चमेराहरू होइनौँ ।
हामी
नयाँ अध्याय हौँ ।
जय सत्य !
जय विवेक !
जय चेतनाको पुस्ता !
जय जेन–जी !

