डरको रङ कस्तो हुन्छ ?
डरको मापन कसरी गरिन्छ ?
सरकार
मलाई डरको उपचार चाहिएको छ ।
नाप्दै ननापी त उपचार कसरी गर्छौ ?
मेरो आँखाभित्र पसेर हेर्छौ ?
कि मस्तिष्क झिकेर नाप्छौ ?
वा ! मुटु चिरेर तौल लिन्छौ
कसरी नाप्छौ मेरो डर ?
मेरो धमिनीमा रगत दौडिँदै गर्दा नाप्छौ कि
प्राण र शरीर अलग भएपछि ?
यतिखेर
बर्खे झरी ठ्याक्कै सुरु भएको छ
मसँग त्रिपाल छैन
हुन त जमिन पनि छैन
सानो जस्ताले छाएको घरजस्तै थियो
कुन्नी के, सरकारकै डोजरले जुरुक्क उचाल्दा
छानोले भुइँ छोयो निमेषभरमै ।
मलाई शान्त हुनु छ
दुई छाक सहजै टार्नु छ
छोरीलाई सिसाकलम
र उनलाई हरियो पछ्यौरी चाहिएको छ
सरकार
तिम्रा शब्द शब्दले मेरा औँला कापिरहन्छन्
आँखामा अन्धकार र डर पनि सँगसँगै छ
अब सम्झ, डरसँगै अन्धकार कति भयावह हुन्छ होला ?
मलाई डर भगाउनु छ सरकार
तिमी तयार छौ ?
मलाई तिमीसँग आँखा जुधाएर वार्ता गर्नु छ
कहाँ छौ तिमी ?
यतिखेर
सिंहजस्तो सरकारले खेद्दै गर्दा
डढेलोमा फसेको मृगजस्तै भएको छु ।
भन सरकार,
मैले निडर भएर बाँच्न पाउँछु ??


