अनगिन्ती मान्छेहरूको
अन्त्येष्टिको मौन साक्षी बनेर
नदी किनारमै वर्षौँदेखि उभिएको छ
बुढो सिमलको रूख ।
ऊ दुःखमा परेकाहरूको ओत हो
प्रेमको निःस्वार्थ स्रोत हो ।
छल–कपट जान्दैन
भेदभाव चिन्दैन
ऊ केही माग्दैन
बरु नमागे पनि अनवरत दिइरहन्छ
प्रेम, वायु, ओत र आश्रय ।
ऊ ऊर्जाको छहारी हो
ऊ आश्वासनको फूलबारी हो
ऊ धैर्य हो
ऊ सहनशीलता हो ।
उसले देखेको छ
अन्त्येष्टिका अनेक रूपहरू
कहिले फूलैफूलको सजावटमा
हजारौँको लावालस्करसहितको शानदार बिदाइ
त कहिले दागबत्तीको अभावमा
कुरिरहेको एक्लो, बेवारिसे मृत शरीरको पर्खाइ ।
उड्दै गरेका उसका भुवाहरू
छोडिनुका प्रतिबिम्ब हुन्
संसार छोड्नु भनेको सबै–सबै छोडिनु हो
भौतिकता अन्ततः शून्यमा हराउनु हो ।
बिदाइको सेतो कात्रो उस्तै, चिता उस्तै
बाल्ने दाउरा अनि दागबत्ती उस्तै
सबै धुवाँका रङहरू उस्तै
सबै धुवाँका गन्धहरू उस्तै ।
ऊ सुसाउँछ बताससँगै
“बाँचुन्जेल किन घमण्डको भारी बोकिरहन्छ मान्छे ?
किन छुट्याउँछ मनहरू
अन्त्यमा त एउटै रङ र गन्धमा मिसिनुपर्ने रहेछ ।”
ऊ सिञ्चित छ
मलामीहरूका आँसुहरूले
तर उसलाई थाहा छ यी आँसुहरू क्षणिक हुन् ।
मलामी बन्दासम्मको यात्रामा मात्र मान्छे ज्ञानी हुन्छ
फर्किएपछि फेरि स्वार्थकै दलदलमा लुटपुटिन्छ ।
किन प्राप्तिका लागि मात्रै दौडिन्छ मान्छे ?
किन नदीमा टुङ्गिने सत्यबाट भाग्छ मान्छे ?
स्वार्थको क्षितिजभन्दा धेरै पर
बुढो सिमल यसै गरी उभिरहेको छ आज पनि
मनहरूको अन्धकार आफूभित्र समेटेर
अनगिन्ती आँसुहरूको निःशब्द पहरेदार बनेर ।
ऊ मौन छ तर सम्पूर्ण छ
उस्तै अजङ्ग छ, अटल छ ।
ऊ संसारलाई मौन भाषामा बुझाइरहेको छ
घमण्ड बढ्यो भने मलामी बन्नु
जीवन बुझ्नु छ भने चिता नजिक बस्नु
र बाँच्नु छ भने
निःस्वार्थ बाँडिन सक्ने ‘सिमल’ बन्नु ।

