साहित्यपोस्ट डट कम

कविता : बुढो सिमलको मौन सन्देश मान्छेलाई

कविता : बुढो सिमलको मौन सन्देश मान्छेलाई

अनगिन्ती मान्छेहरूको

अन्त्येष्टिको मौन साक्षी बनेर

नदी किनारमै वर्षौँदेखि उभिएको छ

बुढो सिमलको रूख ।

ऊ दुःखमा परेकाहरूको ओत हो

प्रेमको निःस्वार्थ स्रोत हो ।

छल–कपट जान्दैन

भेदभाव चिन्दैन

ऊ केही माग्दैन

बरु नमागे पनि अनवरत दिइरहन्छ

प्रेम, वायु, ओत र आश्रय ।

ऊ ऊर्जाको छहारी हो

ऊ आश्वासनको फूलबारी हो

ऊ धैर्य हो

ऊ सहनशीलता हो ।

उसले देखेको छ

अन्त्येष्टिका अनेक रूपहरू

कहिले फूलैफूलको सजावटमा

हजारौँको लावालस्करसहितको शानदार बिदाइ

त कहिले दागबत्तीको अभावमा

कुरिरहेको एक्लो, बेवारिसे मृत शरीरको पर्खाइ ।

उड्दै गरेका उसका भुवाहरू

छोडिनुका प्रतिबिम्ब हुन्

संसार छोड्नु भनेको सबै–सबै छोडिनु हो

भौतिकता अन्ततः शून्यमा हराउनु हो ।

बिदाइको सेतो कात्रो उस्तै, चिता उस्तै

बाल्ने दाउरा अनि दागबत्ती उस्तै

सबै धुवाँका रङहरू उस्तै

सबै धुवाँका गन्धहरू उस्तै ।

ऊ सुसाउँछ बताससँगै

“बाँचुन्जेल किन घमण्डको भारी बोकिरहन्छ मान्छे ?

किन छुट्याउँछ मनहरू

अन्त्यमा त एउटै रङ र गन्धमा मिसिनुपर्ने रहेछ ।”

ऊ सिञ्चित छ

मलामीहरूका आँसुहरूले

तर उसलाई थाहा छ यी आँसुहरू क्षणिक हुन् ।

मलामी बन्दासम्मको यात्रामा मात्र मान्छे ज्ञानी हुन्छ

फर्किएपछि फेरि स्वार्थकै दलदलमा लुटपुटिन्छ ।

किन प्राप्तिका लागि मात्रै दौडिन्छ मान्छे ?

किन नदीमा टुङ्गिने सत्यबाट भाग्छ मान्छे ?

स्वार्थको क्षितिजभन्दा धेरै पर

बुढो सिमल यसै गरी उभिरहेको छ आज पनि

मनहरूको अन्धकार आफूभित्र समेटेर

अनगिन्ती आँसुहरूको निःशब्द पहरेदार बनेर ।

ऊ मौन छ तर सम्पूर्ण छ

उस्तै अजङ्ग छ, अटल छ ।

ऊ संसारलाई मौन भाषामा बुझाइरहेको छ

घमण्ड बढ्यो भने मलामी बन्नु

जीवन बुझ्नु छ भने चिता नजिक बस्नु

र बाँच्नु छ भने

निःस्वार्थ बाँडिन सक्ने ‘सिमल’ बन्नु ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.