साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : बुद्ध आज शोकमा छ

कविता : बुद्ध आज शोकमा छ

यो चोकमा बसेर

बुद्ध आज शोकमा छ ।

यो वर, त्यो पर, परको घर

यो गाउँ, त्यो ठाउँ अनि सहर

शान्तिको कान्तिमा जताततै तुवाँलो झरेको छ

बुद्धको नाममाथि घोर कलङ्क पोतिएको छ ।

यो चोकमा बसेर

बुद्ध आज शोकमा छ ।

न सत्य, न धर्म, न लाज

न इमान, न विश्वासको आवाज

मानवताको बस्तीमा सलह पसेको छ

स्वार्थको भेलले हरेक किनार बगाएको छ ।

यो चोकमा बसेर

बुद्ध आज शोकमा छ ।

शान्तिको नाममा यहाँ गोली पड्कन्छ

शहादत ओढेर सडक निःशब्द निदाउँछ ।

अपराधका पाइला अचेल नाङ्गै हिँड्छन्

कानुनका अनुहार सिक्काले ढाकिन्छन् ।

यो चोकमा बसेर

बुद्ध आज शोकमा छ ।

समाचारका अक्षरमा मूल्यको ट्याग झुन्डिएको छ

गोप्य फाइलहरूभित्र सत्य थुनिएको छ

सपना बेच्नेहरू आज सेवक कहलिएका छन्

माटो बोल्नेहरू द्रोही ठहरिएका छन् ।

यो चोकमा बसेर

बुद्ध आज शोकमा छ ।

यो चोकमा बसेर

बुद्ध आज साँच्चै शोकमा छ ।

किनकि

बुद्धको सपनाले

बोधीवृक्षको फेदमुनि आत्मदाह गरेको छ ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.