साहित्यपोस्ट डट कम

कविता : विम्ब दर्पणमा तिमी

कविता : विम्ब दर्पणमा तिमी

उदाउँदो, भर्भराउँदो

सूर्यको रश्मि तिमी

अस्ताउँदो सूर्यले क्षितिजमा पोत्ने

लालित्य र लालिमा तिमी ।

साँझ, सन्ध्या

मानौँ साँवली केटी

हल्का काली, खास्सा दिलवाली

बत्ती बालेर ढोग्दै दर्शन गर्दा

म बेहाल, तिमी लज्जाले भुइँमा हेर्दा ।

जून बनेर ज्यान लिने

म हुस्सु तिमीमै ध्यान दिने

कहिले हँसियाजस्तो रूपमा

पातलो कम्मर नचाउने

भरिपूर्ण पूर्णिमा भई फेरि मलाई फसाउने ।

घना कालो कपालले तिम्रो

ढाक्छ, फैलन्छ घनघोर अँध्यारो

जुनकिरीजस्ता तारा नभमा

ताराजस्ता जुनकिरी धरामा

म दायाँ र बायाँ तिम्रै इसारामा ।

तिमी चञ्चला पृथ्वीजस्ती

अविश्रान्त घुमिरहने कस्ती !

घुमी–घुमी फेरि मलाई घुमाउने

प्रेमको पञ्जाले मलाई समाउने

भन तिमीलाई कुन नामले बोलाउने ?

रश्मि, आभा, किरण, लाली

सवेरा, साँवली कि काली ?

अचला, चञ्चला, सविता कि

सन्नी चहकिली, प्रशस्त उजेली ?

भन कुन नामले पुकारूँ मतवाली !

दिव्या, काव्या, सभ्या कि तोया

कुन नामले वर्णिन्छ तिम्रो काया ?

कुन सम्बोधनले समाउला तिम्रो माया ?

कुन विम्बले व्याख्या गर्ला

तिम्रो विपुल बैँसालु मदिरालय ?

थोपा, जीवनदायिनी

प्याला, प्रेमील सञ्जीवनी

एक स्पर्शमा आहा ! आघात

घटचक्रमा हातमा हात

जीवन-मृत्यु साथसाथ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.