धेरै अघि हो
मैले पहिलोपल्ट विगुलको आवाज सुनेको ।
त्यस दिन म निकै तरङ्गित भएको थिएँ
सायद त्यो आवाज मेरै छातीभित्रबाट उठिरहेको थियो ।
त्यो रिवालीको हुङ्कार थियो
त्यसपछि आजसम्म लाखौँ पाइला चालिए होलान्
तीमध्ये सबैभन्दा गह्रौँ पाइला त्यही थियो
जहाँ आमाको आँखामा बहिरहेका
आँसुको उपेक्षा गर्दै कठोर तपस्यातर्फ
पहिलोपटक पाइला सारेको थिएँ ।
त्यसपछि मैले धेरैपटक विगुल सुनेँ
उठाउने, सुताउने, रुवाउने र हँसाउने ।
तर सबैको ध्वनि एउटै थियो
सन्देश भने अनेक।
तालिमका बिहानी पसिनाले लेखिन्थे
दिनहरू ज्ञानका किताबले ।
अनुशासन, संस्कार र फौजी लवजले
जीवनको रङ बिस्तारै बदलिँदै गयो ।
जब म वर्दी लगाउँथेँ
मलाई केवल कपडा फेरेको अनुभूति हुँदैनथ्यो ।
घरको आँगन, आमाको काख, परिवारको सहजता
र प्रियसीको साथ
सबैलाई एक कुनामा थन्क्याउँदै
कर्तव्यमा कठोर र सेवामा दृढ बन्दै
गएको अनुभूति हुन्थ्यो ।
फगत एउटा अपेक्षा थियो
एक थान ज्यान नागरिक सेवामा समर्पित गर्ने !
त्यो निर्णय केवल पदको थिएन
नागरिक सुरक्षाका लागि बलिदान
र सेवाको उत्कट अभिलाषाले भरिएको
एक सफेद आत्माको चाहना थियो ।
यसैलाई कर्तव्य ठानी बोक्दै हिँडेँ
पल, घण्टा, दिन, महिना र वर्ष गर्दै ।
एउटै दैनिकी पछ्याउँदै गर्दा
करिब दुई दशक बिते ।
चाहना आज पनि उस्तै छ
सेवा निरन्तर छ, दैनिकी व्यस्त छ ।
फरक यति हो— त्यसबेलाको व्यस्तता
अभ्यासमा केन्द्रित थियो
आजको व्यस्तता त्यागमा समर्पित छ ।
सेवाका वर्षहरू थपिँदै जाँदा शरीरमा धेरै परिवर्तन आए
तर नागरिक सेवाप्रतिको लगावमा कहिल्यै कमी आएन ।
न्याय नपाएका आँखाहरू अगाडि आउँदा
एक्लोपनले दिशा बदल्थ्यो
तिनका खुसी र सन्तुष्टिमा रमाउँदा पत्तै नपाई
थकानले कोसौँ पार गरिसकेको हुन्थ्यो ।
न्याय खोज्दै आएका निःसहायका ओठ मुस्कानले भरिँदा
अनि आँखा सन्तुष्टिले चम्किँदा
मनमनै धन्यवाद दिएको अनुभूति हुन्थ्यो ।
सायद सेवाको गर्व यही हो
जो अरू कसैले कहिल्यै पाउँदैन ।
हो, त्यही क्षण मन पुलकित हुन्छ
र विगतका सबै त्याग मूल्यवान् लाग्छन् ।
रिट्रीट को धुनमा अस्ताउने सूर्यजस्तै
मेरो जीवनमा पनि धेरैपटक मौनता अस्तायो ।
आखिर कसैको उज्यालो जोगाउन
अर्कोको साँझ त गुम्नु नै पर्ने रहेछ ।
आज पनि विगुलले अमरत्वका कथा मात्र
सुनाइरहँदा मेरो मनले प्रश्न गर्छ
के हामीले सधैँ वीरताको गाथा मात्र सुन्ने हो ?
ती सपूत जन्माउने अभिभावकको त्याग र पीडा कसले सुनाउने ?
उसकै बलिदानले बैँसमै विधवा बनेकी
श्रीमतीको बाँकी जीवनको कथा कहिले सुनाउने ?
अनि नाबालकमै बाबु–आमा गुमाएका
सन्तानका मौन दुःखहरू कसले, कहिले बुझिदिने ?
सायद ती सपूतहरूको पुनर्जन्म हुने हो भने
र फेरि पनि यसैगरी विगुल बज्ने हो भने
उनीहरू जुरुक्क उठ्ने थिए
जसरी उनीहरू ढले ।
तर यसपटक,
उनीहरूले विगुल समाएर वीरताको होइन
आफ्ना परिवारका पीडा र व्यथा सुनाउने थिए
जो आजसम्म अरू कसैले कहिल्यै सुनेका छैनन्
सुनाएका छैनन् ।

