साहित्यपोस्ट डट कम

कविता : विगुल जिन्दगी

कविता : विगुल जिन्दगी

धेरै अघि हो

मैले पहिलोपल्ट विगुलको आवाज सुनेको ।

त्यस दिन म निकै तरङ्गित भएको थिएँ

सायद त्यो आवाज मेरै छातीभित्रबाट उठिरहेको थियो ।

त्यो रिवालीको हुङ्कार थियो

त्यसपछि आजसम्म लाखौँ पाइला चालिए होलान्

तीमध्ये सबैभन्दा गह्रौँ पाइला त्यही थियो

जहाँ आमाको आँखामा बहिरहेका

आँसुको उपेक्षा गर्दै कठोर तपस्यातर्फ

पहिलोपटक पाइला सारेको थिएँ ।

त्यसपछि मैले धेरैपटक विगुल सुनेँ

उठाउने, सुताउने, रुवाउने र हँसाउने ।

तर सबैको ध्वनि एउटै थियो

सन्देश भने अनेक।

तालिमका बिहानी पसिनाले लेखिन्थे

दिनहरू ज्ञानका किताबले ।

अनुशासन, संस्कार र फौजी लवजले

जीवनको रङ बिस्तारै बदलिँदै गयो ।

जब म वर्दी लगाउँथेँ

मलाई केवल कपडा फेरेको अनुभूति हुँदैनथ्यो ।

घरको आँगन, आमाको काख, परिवारको सहजता

र प्रियसीको साथ

सबैलाई एक कुनामा थन्क्याउँदै

कर्तव्यमा कठोर र सेवामा दृढ बन्दै

गएको अनुभूति हुन्थ्यो ।

फगत एउटा अपेक्षा थियो

एक थान ज्यान नागरिक सेवामा समर्पित गर्ने !

त्यो निर्णय केवल पदको थिएन

नागरिक सुरक्षाका लागि बलिदान

र सेवाको उत्कट अभिलाषाले भरिएको

एक सफेद आत्माको चाहना थियो ।

यसैलाई कर्तव्य ठानी बोक्दै हिँडेँ

पल, घण्टा, दिन, महिना र वर्ष गर्दै ।

एउटै दैनिकी पछ्याउँदै गर्दा

करिब दुई दशक बिते ।

चाहना आज पनि उस्तै छ

सेवा निरन्तर छ, दैनिकी व्यस्त छ ।

फरक यति हो— त्यसबेलाको व्यस्तता

अभ्यासमा केन्द्रित थियो

आजको व्यस्तता त्यागमा समर्पित छ ।

सेवाका वर्षहरू थपिँदै जाँदा शरीरमा धेरै परिवर्तन आए

तर नागरिक सेवाप्रतिको लगावमा कहिल्यै कमी आएन ।

न्याय नपाएका आँखाहरू अगाडि आउँदा

एक्लोपनले दिशा बदल्थ्यो

तिनका खुसी र सन्तुष्टिमा रमाउँदा पत्तै नपाई

थकानले कोसौँ पार गरिसकेको हुन्थ्यो ।

न्याय खोज्दै आएका निःसहायका ओठ मुस्कानले भरिँदा

अनि आँखा सन्तुष्टिले चम्किँदा

मनमनै धन्यवाद दिएको अनुभूति हुन्थ्यो ।

सायद सेवाको गर्व यही हो

जो अरू कसैले कहिल्यै पाउँदैन ।

हो, त्यही क्षण मन पुलकित हुन्छ

र विगतका सबै त्याग मूल्यवान् लाग्छन् ।

रिट्रीट को धुनमा अस्ताउने सूर्यजस्तै

मेरो जीवनमा पनि धेरैपटक मौनता अस्तायो ।

आखिर कसैको उज्यालो जोगाउन

अर्कोको साँझ त गुम्नु नै पर्ने रहेछ ।

आज पनि विगुलले अमरत्वका कथा मात्र

सुनाइरहँदा मेरो मनले प्रश्न गर्छ

के हामीले सधैँ वीरताको गाथा मात्र सुन्ने हो ?

ती सपूत जन्माउने अभिभावकको त्याग र पीडा कसले सुनाउने ?

उसकै बलिदानले बैँसमै विधवा बनेकी

श्रीमतीको बाँकी जीवनको कथा कहिले सुनाउने ?

अनि नाबालकमै बाबु–आमा गुमाएका

सन्तानका मौन दुःखहरू कसले, कहिले बुझिदिने ?

सायद ती सपूतहरूको पुनर्जन्म हुने हो भने

र फेरि पनि यसैगरी विगुल बज्ने हो भने

उनीहरू जुरुक्क उठ्ने थिए

जसरी उनीहरू ढले ।

तर यसपटक,

उनीहरूले विगुल समाएर वीरताको होइन

आफ्ना परिवारका पीडा र व्यथा सुनाउने थिए

जो आजसम्म अरू कसैले कहिल्यै सुनेका छैनन्

सुनाएका छैनन् ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.