साहित्यपोस्ट डट कम

कविता : भोक, भोट र सुफल हेमरम

कविता : भोक, भोट र सुफल हेमरम

पहिले-पहिले

मानौँ कुनै पर्वले छोपेजस्तो

रङ्गीन बनाइन्थ्यो परालले छाएका

ससाना घरका छानाहरू

टाँगेर रङ्गीबिरङ्गी झण्डाहरू।

आँगनमा आएर थरीथरीका मान्छेहरू

भन्थे यो गरिदिन्छौँ, त्यो गरिदिन्छौँ

यो बनाइदिन्छौँ, त्यो बनाइदिन्छौँ ।

अँगालो हाल्थे, दुःख साट्थे

जोडेर हात, भोट माग्थे

सुफल हेमरम भने स्वीकृतिको मुन्टो मात्र हल्लाउँथ्यो ।

भोट हाल्ने अघिल्ला केही दिनहरू सम्म

भइरहन्थ्यो मानिसहरूको चहलपहल ।

के-के ल्याउँथे, दिन्थे

चलिरहन्थ्यो भोज, सुफल हेमरमको आँगनमा ।

त्यसरी, भोट माग्नेहरू जित्थे या हार्थे

बेखबर सुफलहरू भने

पहिल्यै जित निकाल्थे

मनाइरहन्थे भोकमाथिको विजयोत्सव ।

अहिले

समय बदलिएको छ

सोच बदलिएको छ।

प्रश्नै-प्रश्नहरू बोकेर

आँगनमा उभिएको छ सुफल हेमरम ।

उनी धक फुकाएर प्रश्न सोध्न चाहन्छन्

वर्षौँ देखि किन आश्वासन मात्र बाँडिए ?

किन आजसम्म उनले नागरिकता पाएनन् ?

किन आजसम्म उनले आफ्नो नामको धनीपुर्जा पाएनन् ?

किन आजसम्म उनको गाउँ जाने बाटो बनेन ?

किन आजसम्म उनको गाउँमा बिजुली बलेन ?

किन उनका बच्चाहरूले पढ्न पाएनन् ?

किन समयमै मल पाएनन् ?

किन समयमै बिउ पाएनन् ?

किन अन्नको भाउ पाएनन् ?

किन बजार जाने पुल बनेन ?

किन आजसम्म उनी शोषणमा परे ?

किन आजसम्म उनको आवाज सुनिएन ?

खोई तिमीले भनेको समाजवाद ?

खोई सामन्तवादको अन्त्य ?

खोई विभेदको अन्त्य ?

के उनी ‘भोट-बैंक’ मात्र थिए ?

किन उनलाई प्रयोग मात्र गरियो ?

अनि आज फेरि यत्तिका वर्ष पछि

तिमी कसरी मेरो आँगनमा भोट माग्न आइपुग्यौ ?

उम्मेदवार महोदय !

कृपया यो पटक

सुफल हेमरमका यी सबै प्रश्नहरूको

गोलमोल उत्तर होइन

स्पष्ट जवाफ दिने

हिम्मत लिएर मात्र भोट माग्न जाइदिनुहोस् ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.