साहित्यपोस्ट डट कम

कविता : भीमसेनदेखि बिपी हुँदै ओलीसम्म: एक्लोपनको इतिहास

कविता : भीमसेनदेखि बिपी हुँदै ओलीसम्म: एक्लोपनको इतिहास

इतिहास केवल घटना होइन

यो त घाउहरूको सङ्ग्रह हो

जहाँ राष्ट्रका लागि बाँच्नेहरू

आफ्नै पीडामा लेखिएका छन् ।

भीमसेन थापा

दरबारका झ्यालहरू अझै सोध्छन्

किन एउटा देशभक्त

आफ्नै घरभित्रै एक्लो बनाइयो ?

उनको सासमा देश थियो

तर अन्त्यमा

त्यही देशको नाममा

उनलाई चुपचाप हराइयो…

मरिचमान सिंह श्रेष्ठ

नाकाबन्दीका कठोर रातहरूमा

भोकले पेट मात्र होइन

राष्ट्रको आत्मा नै कराइरहेको थियो

त्यो बेला उनी झुकेनन्

तर दबाबका पहाडहरू

उनकै काँधमा थिचिए ।

बी. पी. कोइराला

स्वतन्त्रताको गीत गाउन खोज्दा

जेलका ढोकाहरू बन्द भए

तर, फलामका ती बारहरूले

उनको विचार कहिल्यै रोक्न सकेनन् ।

उनको सपना आज पनि

हामीभित्र धड्किरहेको छ ।

मदन भण्डारी

जनताको मुटुमा घर बनाएका आवाज

अचानक मौन बनाइए

जस्तो कुनै आँधीले

फूल फुल्नुअघि नै झारिदियो ।

तर, उनको विचार

आज पनि चेतनाको उज्यालो हो ।

महेन्द्र

सिंहासनको उचाइबाट

देशलाई हेर्दै

आफ्नै शैलीमा राष्ट्र निर्माण गर्न खोजे

निर्णयहरू कठोर थिए

र बाटो चुनौतीहरूले भरिएको

तर, त्यो एक्लोपनमा पनि

उनको मनभित्र देशकै धड्कन थियो ।

वीरेन्द्र

शान्ति र समृद्धिको सपना बोकेका राजा

एकै रातमा इतिहास बने

दरबारको त्यो रगतले

देशको मुटु नै चिरिदियो ।

आज पनि त्यो सम्झना

आँसु बनेर झर्छ ।

आज

केपी शर्मा ओली

नक्साको रेखामा

राष्ट्रको आत्मा कोर्दै अघि बढेका

नाकाबन्दीको आँधीमा

अडानको दीप निभ्न नदिएका

कहिले आलोचनाबीच

कहिले समर्थनबीच

तर देशको विषयमा

आफ्नो स्वर नबदलेका ।

उनको बाटो सहज छैन

तर त्यो बाटोमा

राष्ट्रप्रेमको उज्यालो पनि छ

जहाँ थकान छ

त्यहीँ अडानको आगो पनि बलिरहेको छ ।

इतिहासका पानाहरू पल्टाउँदा

एउटा उस्तै रेखा देखिन्छ

राष्ट्रका लागि उभिनेहरू

सधैँ समयसँग मात्र होइन

आफ्नै परिवेशसँग पनि लडिरहेका हुन्छन्

अन्तत

उनीहरू भिडबीच उभिएर पनि

एक्लै पारिन्छन्…

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.