(लघुकविता)
जब भगवानकाे पालादेखि
मान्छे र बाँदरको अस्तित्व
सँगै जोडिँदै आएको छ
करेसाबारीको मकै खाइदियो भन्दैमा
म कसरी उसलाई दुश्मन ठानूँ
र कठोर युद्धको तयारी गरूँ
लाग्छ बरु विकल्पमा
किन म बाँदरमैत्री खेती नगरूँ
कुनै महात्माको उपदेशले
न सात दिनमा बाँदर ध्यानी हुन्छ
न कुनै कानुनको डरले ज्ञानी हुन्छ
बाँदर भनेको सधैँ बाँदर नै हुन्छ
न बाँदरको प्रकृति फेरिन्छ
न बाँदरको प्रवृत्ति फेरिन्छ
फेरिनु नै पर्ने भए
‘मान्छे हुँ’ भन्नेले आफैँ फेरिनुपर्छ
मनन गरौँ
प्रकृतिको अद्भुत सन्तुलनमा
के बाँदरको कुनै भूमिका छैन होला र ?

