साहित्यपोस्ट डट कम

कविता : बाँदर र प्रकृति

कविता : बाँदर र प्रकृति

(लघुकविता)

जब भगवानकाे पालादेखि

मान्छे र बाँदरको अस्तित्व

सँगै जोडिँदै आएको छ

करेसाबारीको मकै खाइदियो भन्दैमा

म कसरी उसलाई दुश्मन ठानूँ

र कठोर युद्धको तयारी गरूँ

लाग्छ बरु विकल्पमा

किन म बाँदरमैत्री खेती नगरूँ

कुनै महात्माको उपदेशले

न सात दिनमा बाँदर ध्यानी हुन्छ

न कुनै कानुनको डरले ज्ञानी हुन्छ

बाँदर भनेको सधैँ बाँदर नै हुन्छ

न बाँदरको प्रकृति फेरिन्छ

न बाँदरको प्रवृत्ति फेरिन्छ

फेरिनु नै पर्ने भए

‘मान्छे हुँ’ भन्नेले आफैँ फेरिनुपर्छ

मनन गरौँ

प्रकृतिको अद्भुत सन्तुलनमा

के बाँदरको कुनै भूमिका छैन होला र ?

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.