साहित्यपोस्ट डट कम

कविता : बादलपारिको यार

कविता : बादलपारिको यार

समयसँग लड्दै–लड्दै

आफू–आफैँसँग भिड्दै–भिड्दै

अचानक ‘अलविदा’ भन्ने मेरो यार

तिमी कहाँ पुग्यौ ?

यार, कतै तिमी

सांसारिक नजरले नदेखिने गरी

झाडी–झाडीमा लुक्दै–लुक्दै

हावासँग बयेली खेलिरहेका त छैनौ ?

वरिपरिको निराकारमा

आकार नभेटिएको यो क्षणमा

नेटोपारिको ‘सत्य’ नदेखिएको यो समयमा

विज्ञानले स्वीकार्न नमानेको

ज्ञानले पर्गेल्न नभ्याएको

विवेकले ठम्याउन नसकेको

कुनै अर्को गाउँ छ भने

मनको मैलो साट्ने ठाउँ छ भने

कुर्दै गर यार !

बादलपारिको नयाँ ठाउँमा

यता–उता हेर्दै–हेर्दै

सुस्त–सुस्त हिँड्दै–हिँड्दै

विश्रामस्थल खोज्दै गर यार !

चौतारीहरू भेटिए

बस्ने स्थान रोज्दै गर यार !

समय जुरेपछि, त्यतै भेटौँला

आउनेहरूसँग सोधखोज गर्दै गर यार !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.