समयसँग लड्दै–लड्दै
आफू–आफैँसँग भिड्दै–भिड्दै
अचानक ‘अलविदा’ भन्ने मेरो यार
तिमी कहाँ पुग्यौ ?
यार, कतै तिमी
सांसारिक नजरले नदेखिने गरी
झाडी–झाडीमा लुक्दै–लुक्दै
हावासँग बयेली खेलिरहेका त छैनौ ?
वरिपरिको निराकारमा
आकार नभेटिएको यो क्षणमा
नेटोपारिको ‘सत्य’ नदेखिएको यो समयमा
विज्ञानले स्वीकार्न नमानेको
ज्ञानले पर्गेल्न नभ्याएको
विवेकले ठम्याउन नसकेको
कुनै अर्को गाउँ छ भने
मनको मैलो साट्ने ठाउँ छ भने
कुर्दै गर यार !
बादलपारिको नयाँ ठाउँमा
यता–उता हेर्दै–हेर्दै
सुस्त–सुस्त हिँड्दै–हिँड्दै
विश्रामस्थल खोज्दै गर यार !
चौतारीहरू भेटिए
बस्ने स्थान रोज्दै गर यार !
समय जुरेपछि, त्यतै भेटौँला
आउनेहरूसँग सोधखोज गर्दै गर यार !

