आठसय वर्ष पुरानो रूखसँग
म कसरी अन्तर्वार्ता गरूँ ?
उसका जरा कहाँसम्म पुगेका छन्
मलाई थाहा भएन
उसका हाँगाबिँगा कतिसम्म फैलिए
त्यो पनि थाहा भएन
उसले झेलेको हावा
उसले भोगेको पानी
उसले खेपेको घाम
उसको जवानी कहानी
मलाई कुनै अत्तोपत्तो भएन
रुखलाई म के प्रश्न गरूँ ?
मलाई उसको भाषा पनि थाहा भएन
म निरूपाय एकछिन उसको छहारीमा बसें
र घर फर्के
मलाई आज
आफू संसारभरकै कमजोर पत्रकार झैँ लाग्यो
सपनामा
रुखले मलाई भन्यो-
हामी पुर्खा र सन्तति पो हौं
तिमी मेरो नजिक आयौ
र छहारीमा बस्यौ
हामी दुवै धन्य भयौं
दुखी नहोऊ
कहिलेकाहीँ
मनैमनको भाषा पनि
गहिरो अन्तर्वार्ता हुन्छ,
जो बाहिर कतै नभएर
मनकै भित्तामा छापिन्छ ।’

