साहित्यपोस्ट डट कम

कविता : अपूर्णताको आलोक

कविता : अपूर्णताको आलोक

तिमी

अझै अक्षरहरूलाई स्पर्श गर्दै गरेको बिहान थियौ

ओसले लेखेको क्षणिक वाक्य

जसलाई घामले पढ्न नपाउँदै मेटाइदिन्छ ।

अलि ढिलो अनुभूत साँझ

जसले उज्यालो बाँड्दा–बाँड्दै

आफ्नै छायासँग सम्झौता गरिसकेको थियो ।

हामी

एउटै आकाशका दुई ऋतु

बिचमा समयको निरन्तर बगाइ

जहाँ शब्दहरू जन्मिन नपाउँदै

भावनाहरू बुढा भइसकेका थिए ।

तिमी

रङहरू चिन्न सिक्दै थियौ

म भने रङहरूको अर्थ हराइसकेको

तर कुनै नबोलिएको भाषामा

हाम्रो दृष्टिले एकअर्कालाई अनुवाद गर्‍यो

शब्दभन्दा अगाडि

अर्थभन्दा गहिरो ।

हाम्रो भेट

वसन्तले हिउँसँग गरेको गोप्य सन्धिजस्तो

क्षणभरको सहमति

दीर्घकालीन असम्भवता ।

तिमीले

मलाई फूल नबनेको बोटझैँ छोयौ

र म

तिमीमाथि हावा नभएको सासझैँ बगेँ

अनाम, तर छुटाउन नसकिने ।

तर समय

त्यो त निष्कर्ष लेख्ने लेखक रहेछ

उसले हाम्रो कथा

अधुरै छोडेर पनि पूर्ण ठहर गरिदियो ।

हामी छुटियौँ

रेलका समानान्तर लिकझैँ होइन

बरु दुई दिशामा हिँड्ने

एकै सुरुवातका पाइला

जसले फर्केर हेर्दा

मात्र एउटै छाप देखाउँछन् ।

तिमी

आफ्नै आकाशको ताराजस्तै टाँसियौ

अर्कै क्षितिजको धुलो बनेँ

तर प्रत्येक रातको निस्तब्धतामा

एउटै उज्यालोले

हाम्रो दूरी नापिरहन्छ ।

तिमी अझै

मेरो नलेखिएको अन्तिम हरफ हौ

र म

तिम्रो अधुरो स्वरको प्रतिध्वनि ।

हामीले प्रेमलाई बिर्सेनौँ

केवल यसको उपस्थितिलाई

अर्को रूप दिइयो ।

किनकि

कहिलेकाहीँ

सबैभन्दा सत्य मिलन

एकै ठाउँमा होइन

अलग–अलग समयहरूमा

एउटै सम्झनामा बाँचेको हुन्छ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.