साहित्यपोस्ट डट कम

कविता : अपेक्षा खुसीको

कविता : अपेक्षा खुसीको

आशा छ

मभित्र सञ्चित रहरका कोपिलाहरू

पहिलो सूर्यकिरणको स्पर्शले फक्रून्, फुलून् ।

अनुहार नै उज्यालो बनून् ।

नयाँ उत्साह बोकेर हरेक बिहान

म सम्भावनाको यात्रा सुरू गर्छु

कर्तव्यको बाटो पछ्याउँदै

भोलिको उज्यालो जोहोमा ।

म नदीझैँ बग्छु

चट्टानले रोक्न नसक्ने

मेरो बहाव कर्मकै नामले चिनियोस् ।

कर्मवीर सिपाहीझैँ उभिएर

हरेक चुनौतीसँग जुध्न म प्रतिबद्ध छु ।

आशा छ

मानवीय जीवनको कथा लयमा बगिरहोस् ।

कल्पवृक्षका गहिरा जराझैँ सन्तानका सुखहरू फैलून्

आस्थाको सगरमाथा चुम्ने सामर्थ्य मिलोस्।

फूलको सुगन्ध बोकेको हावाझैँ

विदेशबाट स्वदेश पुगूँ

सीप र प्रविधि बटुलेर गाउँका पाखा–पखेरा सिँगारूँ ।

मभित्र राष्ट्रप्रेमको तागत छ

आमाको आशीर्वाद छ

लाग्छ, म अजेय छु ।

आशा छ

शान्त बनोस् मानव बस्ती

सङ्गीतझैँ बगिरहोस् जीवन ।

कुनै मोडमा दुर्घटनाको कालो छायाँ नदेखियोस् ।

मानिसको हृदयाकाशमा

इन्द्रेणी सपना उदाइरहून्

दुःखका बादल हटून् ।

पत्थरको काखमै पनि

कर्मका फूल फुलून्, मीठा फल लागून् ।

धेरै चाहिएको छैन

शान्ति होस्, समृद्धि होस् ।

वैमनस्य झरून् मनबाट

जीवनका हरेक पाइला–पाइलामा

सुखको उज्यालो टल्किरहोस् ।

यही हो मेरो अपेक्षा

मानिसलाई चाहिने जति

खुसी संसारमा भरिपूर्ण होस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.