अनुप्रिया !
तिम्रो यादमा
मैले भिजाएका सिरानी
काखी च्यापेर
गनेका अनगिन्ती ताराहरू
तालछेउमा भक्कानिएर
फालेका दर्शनढुङ्गाहरू
उखेलेका नदीकिनारका बुट्यानहरू
टुक्राएका नाडीका रक्तनसाहरू
र खुर्केका भाग्यरेखाहरूको कसम
मुटु टुक्रिएपछि
मुटु जोड्न पनि
त मुटु नै चाहिने रहेछ।
अनुप्रिया !
तिम्रो यादमा
मैले भत्काएका आँखाका डिलहरू
भट्टीमा बिछ्याएर
रोजेका रक्सीका बोतलहरू
बसेका चुरोट, गाँजा र सुर्तीका अम्मलहरू
च्यातेका
तिमीले पठाएका अहङ्कारहरू
आफ्नै अनुहार चिथोरेर
कुरूप पारेका नग्राहरू
धर्तीमा बजारेका मुठ्ठीहरू
पटक–पटक कोतरेर
क्षतविक्षत बनेका
आफ्नै टाउकाका घाउ र खतहरूको कसम
तिम्रो सम्झनामा
तिमीलाई बिर्सन पनि
त तिमी नै चाहिने रहेछ ।
अनुप्रिया !
तिम्रो यादमा
मैले रोकेका मुटुका धड्कनहरू
एक–एक गरेर खोजेका विकल्पहरू
तड्पिएका चुक समानका रातहरू
ब्युँतिएका सुनामी छालहरू
कलेटीले फटफटाएका सुक्खा ओठहरू
पुतपुताएका चिसा परेलाहरू
र खड्किएका
तिम्रा अभावहरूको कसम
अभाव परिपूर्तिका लागि पनि
त तिमी नै चाहिने रहेछ।
अनुप्रिया !
तिम्रो यादमा
मैले छाती पिटी–पिटी
क्षतविक्षत बनाएर
हाँस्न मात्रै सकेको भए
आकाशको कालो बादल
हटेर नीलो हुँदो हो ।
गन्तव्यहीन हुँदाहुँदै पनि
गन्तव्यकै लागि
भौतारिँदै हिँड्न सकेको भए
मेरो यात्राले
सहयात्री भेट्टाउँदो हो।
पहाडको बीचमा
डाँको छोडेर
चिच्याउन मात्रै सकेको भए पनि
मेरो रोदनमा
पहाडले साथ दिँदो हो ।
साच्चै !
मैले चिच्याउँदै बोलाएको
पहाडको कसम
खाँचो परेपछि
खाँचो टार्न पनि
त तिमी नै चाहिने रहेछौ ।
अनुप्रिया !
तिम्रो यादमा
तिमीले छोडेकै दिनदेखि
तिमीलाई पाउँदिनँ
भन्ने जान्दाजान्दै पनि
तिमीलाई नै पाउनका लागि
तिम्रो प्रतीक्षामा
मैले आफूलाई रित्याएको छु ।
आस नै नरहँदा पनि
आस लागेपछि
आस मार्न पनि
त खास नै चाहिने रहेछ ।
सास नै रोकिन लागेपछि त
सास फेर्न पनि
सासह नै चाहिने रहेछ

