काठमाडौँ । प्रसिद्ध साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा ‘कविता एन्ड द कप’ले अनामनगरस्थित सिलौटो कटेजमा कवितावाचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सरुभक्तले कविता, साहित्य र आफ्नो सर्जनात्मक यात्राबारे अनुभव सुनाउनुभयो । उहाँले “जहाँ पुगिन्छ, त्यही कविता भेटिन्छ” भन्दै २०५५ सालमा सञ्चालन गरिएको संरक्षण कविता अभियानअन्तर्गत मुक्तिनाथको रानीपौवा गाउँमा स्थानीयवासीसँगै स्थलगत कविता लेख्दाका अनुभव साझा गर्नुभयो ।
सरुभक्तले प्रयोगवादी तथा बौद्धिक कविताभन्दा पनि आम पाठकले बुझ्न सक्ने कविता आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले कविले बौद्धिक र सरल दुवै धाराका कविता लेख्न सक्ने उल्लेख गर्दै कवि मोहन कोइरालासहितका स्रष्टाबाट आफू प्रभावित भएको बताउनुभयो ।
उहाँले वैरागी काइँला र इन्द्रबहादुर राईका आयामेली कविताको प्रसङ्ग उल्लेख गर्दै आफ्ना केही कवितालाई जटिल भनिए पनि आफूले सरल र सहज कविता पनि लेख्दै आएको जिकिर गर्नुभयो । कविताका नाममा राजनीति गर्ने र कुण्ठा मात्र चित्रण गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै आफ्ना सिर्जना पाठकले बुझ्न सक्ने खालका रहेको बताउनुभयो ।
कार्यक्रममा सरुभक्तले ‘असलम मियाँको सपना’ लगायत केही रचना प्रस्तुत गर्नुभएको थियो ।
‘कविता एन्ड द कप’का सूत्राधार कवि केशव सिलवाल र उद्घोषक मोक्तान थेबाको संयोजनमा सम्पन्न कार्यक्रममा सरुभक्तका विभिन्न कवितासङ्ग्रहमा समाविष्ट रचनाहरूको सङ्कलन ‘सरुभक्तका कविता’ बाट प्रतिनिधिमूलक कविता वाचन गरिएको थियो ।
कवि मातृका पोखरेल, रामगोपाल आशुतोष, मिथोच, उमेश अकिञ्चन, रमेश पौडेल, अनुभव, गीता त्रिपाठी, शकुन्तला जोशी र सीता तुम्खेवाले सरुभक्तका कविता वाचन गर्नुभएको थियो । कवि राजु उबरकोट र सजना गोलेले आफ्ना कविता प्रस्तुत गर्नुभएको थियो ।
वाचित कवितामाथि साहित्यकार कुमारी लामा, गोविन्द गिरी प्रेरणा र नवीन सिंह ठकुरीले संक्षिप्त धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन कवि मोक्तान थेबाले गर्नुभएको थियो ।

