धुलाम्मे गल्लीमा
थुप्रै थिए ऊ जस्तै उसका दौँतरीहरू
कोही भोकको आवाज भुक्थे
ऊ भने शोकको मौन सुस्केरा ।
पारि सहरको सडक-सडकमा
‘आलोका’ लुखुरलुखुर हिँडिरहेको छ
प्रेम, दया र करुणाको मौन पर्चा छर्दै ।
उसका पाइलाहरूले लेख्छन् सडकभरि
शान्तिका केसरी अक्षरहरू ।
उसको न कुनै भाषा छ
न कुनै शब्द छ बोल्नलाई
उसको नजरका गेरुवा लिपिहरू भन्छन्
“तिम्रो जस्तै यो धरा मेरो पनि घर हो
आगो लगायौ भने म पनि सल्किन्छु
गोली बर्सायौ भने म पनि तर्सिन्छु ।
अनि सुन
युद्धले कहिले जित्दैन, युद्ध सधैँ हार्छ
शान्तिले नै विजयको झन्डा फहराउँछ ।”
क्लान्त शरीर भुइँमा बिसाउँदै
ऊ मौन फुसफुसाउँछ
“ए मान्छेहरू हो !
मान्छेले मान्छे हुन बिर्सिरहेको बेला
मान्छेले आफ्नै अनुहार हराइरहेको बेला
अनि मान्छेले सबै बिर्सेर
मान्छे नै अमान्छे भइरहेको बेला
हराएको तिम्रो मान्छेत्व सम्झाइदिन
हराएको तिम्रो बुद्ध खोजिदिन
र तिमीलाई तिमीमै फर्काउन
म ‘आलोका’
मेरो गल्लीको बास छोडेर
तिम्रो यो सडकै-सडक हुँदै
शान्तिको मौन पदयात्रामा हिँडेको छु ।
करुणाको ध्वनिबिहीन शङ्ख फुक्दै
तिम्रो प्रदूषित माटो चोख्याउन आएको छु।”
बुद्धम् शरणम् गच्छामि
धर्मम् शरणम् गच्छामि
सङ्घम् शरणम् गच्छामि ।

