साहित्यपोस्ट डट कम

कविता : ‘आलोका’ मान्छेत्वको मौन याचना

कविता : ‘आलोका’ मान्छेत्वको मौन याचना

धुलाम्मे गल्लीमा

थुप्रै थिए ऊ जस्तै उसका दौँतरीहरू

कोही भोकको आवाज भुक्थे

ऊ भने शोकको मौन सुस्केरा ।

पारि सहरको सडक-सडकमा

‘आलोका’ लुखुरलुखुर हिँडिरहेको छ

प्रेम, दया र करुणाको मौन पर्चा छर्दै ।

उसका पाइलाहरूले लेख्छन् सडकभरि

शान्तिका केसरी अक्षरहरू ।

उसको न कुनै भाषा छ

न कुनै शब्द छ बोल्नलाई

उसको नजरका गेरुवा लिपिहरू भन्छन्

“तिम्रो जस्तै यो धरा मेरो पनि घर हो

आगो लगायौ भने म पनि सल्किन्छु

गोली बर्सायौ भने म पनि तर्सिन्छु ।

अनि सुन

युद्धले कहिले जित्दैन, युद्ध सधैँ हार्छ

शान्तिले नै विजयको झन्डा फहराउँछ ।”

क्लान्त शरीर भुइँमा बिसाउँदै

ऊ मौन फुसफुसाउँछ

“ए मान्छेहरू हो !

मान्छेले मान्छे हुन बिर्सिरहेको बेला

मान्छेले आफ्नै अनुहार हराइरहेको बेला

अनि मान्छेले सबै बिर्सेर

मान्छे नै अमान्छे भइरहेको बेला

हराएको तिम्रो मान्छेत्व सम्झाइदिन

हराएको तिम्रो बुद्ध खोजिदिन

र तिमीलाई तिमीमै फर्काउन

म ‘आलोका’

मेरो गल्लीको बास छोडेर

तिम्रो यो सडकै-सडक हुँदै

शान्तिको मौन पदयात्रामा हिँडेको छु ।

करुणाको ध्वनिबिहीन शङ्ख फुक्दै

तिम्रो प्रदूषित माटो चोख्याउन आएको छु।”

बुद्धम् शरणम् गच्छामि

धर्मम् शरणम् गच्छामि

सङ्घम् शरणम् गच्छामि ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.