स्क्रिनहरूको सहरमा
सूर्य पनि पिक्सेल बनेको छ
चन्द्रमा नोटिफिकेशन जस्तो झुल्किन्छ
रात अपडेट हुँदैछ भन्दै आफैँ बदलिन्छ ।
मेसिनहरू सोच्न थाले
मानिसहरू स्क्रोल गर्न थाले
र ऊ कहिलेकाहीँ लोडिङमा अड्किन्छ ।
एल्गोरिदमहरू अब कवि भएका छन्
उनीहरू हाम्रो रुचि पढ्छन्
हाम्रो रुवाइ अनुमान गर्छन्
हाम्रो प्रेमलाई पनि
सजेस्टेड कन्टेन्टमा बदल्छन् ।
ओहो ! स्वतन्त्रता
कति सुन्दर शब्द
कति सुन्दर भ्रम !
हामी छनोट गर्छौँ
तर विकल्पहरू पहिले नै चयन भइसकेका हुन्छन् ।
यहाँ विचार स्वतन्त्र छ
अनुमति प्राप्त सीमाभित्र
यहाँ मानिस
मानिस होइन
डेटा बिन्दु हो
एक चलायमान गणितीय प्रार्थना ।
हजारौँ साथी
तर एक्लोपनको महाराज्य
हजारौँ लाइक
तर आत्माको अनलाइक !
कति अचम्म !
हामी जोडिएका छौँ
तर जडिएका छैनौँ
वाई-फाई बलियो छ
तर आत्मीयता कमजोर ।
ओ डिजिटल देवता !
तिमीले ध्यान चोरेका छौ
नीरस नोटिफिकेशनको बमले
मौनताको मन्दिर भत्काएका छौ ।
अब मौनता अपराध जस्तो लाग्छ
र हल्ला नै सभ्यता ।
ज्ञान यहाँ वर्षा जस्तै छ
तर बुद्धि भने
सुक्खा मरुभूमिको अन्तिम प्रार्थना ।
सूचना सूचनामा डुबेको छ
अर्थ अर्थमै हराएको छ
र हामी
गुगल गरिएको अस्तित्व हौँ ।
प्रविधि दुष्ट होइन
तर दुष्टताविना पनि
अत्यन्त कुशल हुन सक्छ ।
मेसिनहरू निर्दोष छन्
तर उनीहरूका सपना
हाम्रो ध्यानको चोरीमा बुनिएका छन् ।
हामी भन्छौँ
म स्वतन्त्र छु
तर त्यो स्वतन्त्रता
क्युरेट गरिएको जेल हो ।
धैर्य मरेको छ
गहिराइ हराएको छ
र जीवन
नेक्स्ट भिडियोमा अड्किएको छ ।
प्रेम अब इमोजी हो
करुणा अब रिएक्शन हो
र पीडा
स्किप एड जस्तै तुरुन्त हटाइन्छ ।
तर अझै पनि
कतै गहिरोमा
एक पुरानो मौनता बाँचेको छ
ऊ बोल्दैन
ऊ पोस्ट गर्दैन
ऊ केवल पर्खिन्छ ।
डिजिटल उज्यालो बढ्दैछ
तर भित्री रात पनि विस्तार हुँदैछ
र विडम्बना !
हामी प्रगति भन्छौँ
जब आत्मा सानो हुँदै जान्छ ।
तर शायद
मानवता हराएको छैन
ऊ केवल
डु नट डिस्टर्ब मोडमा
आफ्नो अस्तित्वलाई
फेरि सम्झाउन पर्खिरहेको छ ।

